खोइ युवामैत्री योजना र व्यवहार?

भानु बोखिम | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 ०९:३७:०० मा प्रकाशित

हालसालै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले श्रमको सम्मान नहुदा गाउँघर युवाविहीन हुँदै गएको तितो यथार्थ सुनाएका थिए। युवा नभएपछि मलामी पाउन पनि समस्या भएको गुनासो उनी गरिरहेका थिए। समता फाउन्डेसनको एक कार्यक्रममा बोल्ने क्रममा नेता नेपालले यो समस्यालाई वैदेशिक रोजगारसँग जोडिरहेका थिए, जो अधिकांश  नेपाली युवाको रहर र बाध्यता दुवै बन्दै गएको छ। 

नेता नेपालको भनाइले एउटा पुरानो घटनाको याद दिलायो। ठ्याक्क मिति त याद भएन। करिब आठ वर्षअघिको हुनुपर्छ। त्यो समय म च्यारिटीमा सञ्चालित सञ्चारगृहमा कार्यरत थियो। एक टिमले स्वदेशमै इलम गर्नुपर्छ भन्ने सन्देश दिन पाँच अंकको नाटक उत्पादन गर्‍यो। उक्त टिममा म पनि थिएँ। नाटक प्रसारण भइसकेपछि पश्चिममाञ्चल वा मध्यपश्चिमाञ्चलको एक जिल्लाबाट स्रोताको पत्र आयो।

युवाको नवीन सोच र सिर्जनशीलतालाई आलाकाँचाको फुर्तिफार्ती भन्ने रोग छ। समाजको प्रौढ व्यक्ति र राजनीतिक दलका नेता दुवैमा यस्तो सोच हाबी छ। यो सोचले युवाजगत निराश हुन पुग्छन्।

तर पत्रको आसयले रेडियो नाटक सुनेपछि विदेश जाने सपना त्यागेर स्वदेशमा केही गर्न तत्पर रहेको बताउँथ्यो। करिब छ महिनापछि प्रभावमापनको बारेमा सोही पाठकसँग कुरा गर्ने कोसिस गरियो। यसको लागि त्यो पत्रमै उल्लेख मोबाइल नम्बरमार्फत सम्पर्क गरियो। अफसोस, फोन संवाद गर्दा स्रोताको उत्साह मरिसकेको पाइयो। उनले निराश हुँदै भनेका थिए– 'मैले थातथलोमै केही गर्ने प्रयास गरेँ तर कतैबाट सहयोग पाइनँ। अब फेरि विदेश नै जाने मनस्थितिमा छु।' 

ती पत्र लेख्ने स्रोताको हविगत धेरै नेपाली युवाको वास्तविकता हो। नेताको भाषण र सरकारको योजना सुनेर हौसिने युवाको सपना चिसिन धेरै समय लाग्दैन यहाँ। अहिलेको परिस्थितिमा यसरी सपना चिसिएका युवाको लागि फेरि सपना ब्युँताउने गन्तव्य  भनेको वैदेशिक रोजगार नै हो। यसरी विदेसिने युवाले पठाएको विप्रेषणले आर्थिक रुपमा राष्ट्रलाई राम्रै भएको छ। तर गाउँमा लास बोक्ने मानिसधरि रित्याएर विदेसीएका यी युवा आफै पनि बन्द बाकसमा फर्किनुपर्ने विराट दुःख हो। वैदेशिक यात्रामा जानेले जीवनलाई जोखिममा मात्र राख्दैन। देशको हिमालभन्दा अग्ला दुःखका पहाड पनि दिनहुँजसो चढ्नुपर्छ। यो रोजाइ पक्कै पनि रहरसँग मात्र जोडिएको छैन। 

वैदेशिक रोजगार रहर र बाध्यता दुवै हो। यो कुरा बुझ्नलाई युवाको मनोविज्ञान बुझ्न जरुरी छ। अधिकांश युवा स्थापित सिस्टमका सहयोगी हुन रुचाउँछन्। उनीहरु आफूसँग भएको सिप र ज्ञान जोसजाँगरका साथ प्रयोग गर्न खोज्छन्। तीमध्ये कम युवा सिर्जनशील र नवीन सोच राख्ने हुन्छन्। यिनीहरुले आफूलाई मात्र नभएर अरु युवा तथा आम मानिसका लागि अवसर सिर्जना गर्छन्। यी भिन्नताका बाबजुद दुवैखाले युवामा एक साझापन भने हुन्छ– परम्परागत विधि र ढाँचामा नरमाउने चाहना। युवाले आफ्नो सिप र ज्ञान नयाँ परिवेशमा प्रयोग गर्न खोज्छ। अबको युवाले कृषि पेसा आत्मसात गर्ला तर बाबुबाजेले झैं हलो र कोदालोको भर खेतीपाती गर्न चाहँदैन। राजनीतिक व्यवस्थाले युवाको यो चाहनालाई बुझे पनि सम्बोधन गर्न सकेको छैन। बस्, राजनीतिज्ञहरु आफै माधव नेपाल झैं श्रमको सम्मान नपाएर युवा बाहिरिए भन्दै गुनासो गर्छन्। 

हाम्रा नेताको साझा समस्या छ। उनीहरु नै नीति निर्माण र कार्यावन्यन गराउने तहमा पुग्छन्। र, स्वयं यो भएन र त्यो भएन भन्दै गुनासो गर्छन्। युवाको सवालमा यस्ता धेरै गुनासो सुनिँदै आएको छ। सत्तारुढ दलका वरिष्ठ नेताले यसरी गुनासो गर्नुको सट्टा युवामैत्री काम गर्न सरकारलाई दबाब दिन सक्छन्। तर गर्दैनन्। उनी कुनै बेला प्रधानमन्त्री हुँदा पनि युवालाई गाउँमै राख्ने वातावरण बनाउन काम गरिएको देखिएन।

राजनीतिक व्यवस्थाले युवाको यो चाहनालाई बुझे पनि सम्बोधन गर्न सकेको छैन। बस्, राजनीतिज्ञहरु आफै माधव नेपाल झैं श्रमको सम्मान नपाएर युवा बाहिरिए भन्दै गुनासो गर्छन्। 

युवालाई जन्मेकै ठाउँमा राख्न हाम्रा उत्पादन तथा अर्थोपार्जनका क्षेत्रलाई आधुनिकीकरण गर्नु जरुरी छ। तर सत्ताबाहिर हुँदा ठूला कुरा गर्ने नेता सत्तामा पुगेपछि अलमलिने समस्या छ। काम नगरी विकास हुँदैन। विकास नभई अवसर सिर्जना हुँदैन। अवसर सिर्जना नभई श्रम बजारमा आएका युवाले रोजगार पाउँदैनन्। स्वदेशमा रोजगार नपाएपछि विदेसिनु जो कोहीको बाध्यता हो। 

युवामा अन्तरनिहीत तत्व भनेको बल हो। युवाले कुनै पनि काम छिटो र छरितोसँग गर्न सक्ने सामार्थ्य राख्छ। त्यही सामर्थ्यको कारण युवा जमात जोसिलो हुन्छ। अधिकांश युवा आफ्नो बलबर्कत प्रयोग गरेर काम गर्ने मञ्च खोजिरहेको हुन्छ। थोरै युवा भने आफ्नो बलबर्कतसँगै मस्तिष्क पनि प्रयोग गर्न खोजिरहेका हुन्छन्। सरकारले यी दुवैथरी युवाको सोच र सपनालाई सम्बोधन गर्न सकेको छैन। केही गर्छु भन्ने युवाले कर्मचारीतन्त्रको जञ्जाल नाघ्नै मुस्किल पर्छ।

अर्कोतिर लगानी जुटाउने काम पनि सजिलो छैन। भेन्चर क्यापिटलको अभ्यास चलिसकेको छैन नेपालमा। सरकारले दिने अनुदानको लागि योग्य हुन कार्यकर्ता हुनुपर्छ। कार्यकर्ता नभए अनुदान रकमको ठूलो हिस्सा चाँजोपाँजो मिलाउनुको लागि खर्च गर्नुपर्छ। यस्तो भद्रगोलमा सिर्जनशीलता र नवीनता प्रयोग गर्ने युवाहरुले पलायनकै बाटो रोज्छन्।

वैदेशिक यात्रामा जानेले जीवनलाई जोखिममा मात्र राख्दैन। देशको हिमालभन्दा अग्ला दुःखका पहाड पनि दिनहुँजसो चढ्नुपर्छ। यो रोजाइ पक्कै पनि रहरसँग मात्र जोडिएको छैन। 

धेरै युवा विदेसिएका छन्। सत्य यो पनि हो कि अझै पनि धेरै युवा देशमै छन्। यद्यपि गाउँमा मलामी छैन भन्ने गुनासो बारम्बार सुनिँदै आएको छ। यो सुगा रटान लगाउनेमा युवा स्वयं पनि होलान्। नेता त छन् नै। प्रमुख कुरा नेता आफै किन यो कुरा गरिरहेका छन्? समग्र नेताको सोच र व्यवहार कति युवामैत्री छ? गाउँ रित्तो पारेर हिँडेका कति युवा विदेशमा पसिना चुहाउँदै छन्? विदेश नपुगेका बाँकी युवा कता छन्? निश्चय नै उनीहरु अवसरको खोजीमा ठूला र साना सहरको गल्ली चहारिरहेका छन्। ती युवालाई गाउँ फर्काउने कुन नीति ल्यायो विगत र वर्तमान सरकारले? यस्ता प्रश्नहरुले मस्तिष्कलाई आक्रमण गर्छन्।

यी सारा प्रश्नहरुको पछाडि मुख्यत: दुई कुराले काम गरेको छ। 

पहिलो, युवाप्रतिको अविश्वास। दोस्रोचाहिँ राजनीति। राजनीतिज्ञले आफ्नो स्वार्थ अनुकूल युवाको प्रयोग गर्दा उनीहरुको बाटो रुमल्लिएको छ। युवाप्रतिको अविश्वास हाम्रो सामाजिक अभ्याससँगै जोडिएको छ। सामान्यतया हामीमा ठूला र अनुभवी मान्छे मात्र जान्ने हुन्छन् भन्ने सोचाइ छ। युवाको नवीन सोच र सिर्जनशीलतालाई आलाकाँचाको फुर्तिफार्ती भन्ने रोग छ। समाजको प्रौढ व्यक्ति र राजनीतिक दलका नेता दुवैमा यस्तो सोच हाबी छ। यो सोचले युवाजगत निराश हुन पुग्छन्।

अर्को दुःखद् पक्ष भनेको लामो समयदेखि नेता तथा शासकले युवालाई आफ्नो स्वार्थसिद्ध गर्न प्रयोग गर्दै आएका छन्। राणा शासकले धेरै जनजाति युवालाई अंग्रेज रिझाउन युद्धमा पठाए। शताब्दी लामो राणा शासन र तीन दशक लामो पञ्चायतविरुद्ध यिनै युवा परिचालित भए। माओवादी युद्धमा युवाको सहभागिता राम्रै थियो। तर यी आन्दोलन सम्पन्न भएपछि तिनै युवा उपेक्षित भए। अझै पनि राजनीतिक दलले युवालाई कुनै सिर्जनशील काममा भन्दा बढी हुलदंगा र नाराजुलुस बढी प्रयोग गर्छ। 

युवालाई निजी तथा दलगत स्वार्थको लागि मात्र प्रयोग गर्ने कि उसको नवीन र सिर्जनशील सोचलाई साकार बनाउने वातावरण सिर्जना गर्ने? राजनीतिक दलले सोच्ने बेला आएको छ। युवा तथा युवाको सोचलाई उपेक्षा गरे उनीहरु थातथलोबाट पलायन हुन्छन् नै। युवा पलायनबारे सार्वजनिक मञ्चबाट गुनासो मात्र पोखेर समाधान हुँदैन। 

भानु बोखिमका थप लेख :