राजनीति सधैं लिकमा गुडिरहेको रेलझैं सिधै र सहज भएर अगाडि बढ्दैन। अनगिन्ती उत्तारचढाव सामना गर्दै नागबेली बाटो भएर हिँड्छ। यो आफैमा असहज यात्रा हो। लामो र असहज यात्रा पार गर्न रणनीति र कार्यनीति परिवर्तन गरिरहनुपर्छ। निरन्तरको रणनीति र कार्यनीति परिवर्तनले संस्था वा व्यक्तिलाई अस्तित्वमा त राख्ला तर राजनीतिक दर्शन तथा सिद्धान्त भने ओझेल पर्दै जान्छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यही आरोप सामना गर्दैछन्। उनले जनयुद्धताकाको मुद्दा वा उद्देश्य नछोडेको दाबी गर्छन्। तर, यथार्थमा प्रचण्डको राजनीतिक इतिहास बन्दै जाँदा जनयुद्धका उद्देश्य र मर्म ओझेल परेकै हुन्।
भर्खरै 'जनयुद्ध दिवस' मनाइएको छ। माओवादीको नाममा जनयुद्ध लडेर अहिले छिन्नभिन्न भएकाहरुले आ-आफ्नै ढंगले यो दिवस मनाए। भलै जता भए पनि जनयुद्ध दिवसलाई युद्धमा सहभागी भएकाहरुले ऐतिहासिक उत्सवको रुपमा लिए। युद्धमा सहभागी नहुनेका लागि पनि चासो र चर्चाको विषय बन्यो। जनयुद्धमा होमिने वा नहोमिने, सर्वसाधरण वा बुद्धिजीवी जो हुन्, अधिकांशको सार एउटै छ– जनयुद्ध हाँक्ने पार्टीले बाटो बिरायो। हजारौंको बलिदानी खेर गयो। यसमा सम्पूर्ण रुपमा दोषी छन् प्रचण्ड। किनकि प्रचण्डको विचलनले उनी स्वयं लगायत एकाध नेतालाई मात्र फाइदा भयो। अधिकांश पार्टीमा आस्था राख्ने र देशलाई हात लाग्यो शून्य भयो।
राजनीतिक परिदृश्यमा आफूलाई उभ्याइरहन चाहने नेता बिस्तारै ‘डेमगग’ चरित्रको हुन्छ। डेमगग भनेको आफ्नो विचार र योजना छोडेर भिडले चाहेजस्तो लोकप्रिय कुरा गर्ने नेता हो। यो चरित्रको हावा प्रचण्डमा पनि लाग्न थालेको छ।
यो निष्कर्षमा पुगेर प्रचण्डमाथि दोषारोपण गर्नु अनुचित नहोला। तर, यथार्थ यो पनि हो कि हामी जस्तो तेस्रो विश्वको राजनीतिमा प्रचण्डको ठाउँमा अर्को नेताले यही परिस्थितिको सामना गर्थ्यो। किनकि प्रचण्ड तेस्रो विश्वको राजनीतिक संस्कार, अभ्यास र संरचनाका सिकार भएका हुन्।
राजनीति पेसा नभएर सेवा हो। तर यो मर्म अनुरुप राजनीति विकसित र सम्पन्न राष्ट्रमा भने चलेको देखिन्छ। त्यहाँका नेता निश्चित योजना तथा मुद्दा लिएर आउँछन्। लोकतान्त्रिक विधिबाट जनताको अनुमोदन खोज्छन्। अनुमोदन नभए वा जनताले नपत्याए राजनीतिमा झुन्डिरहन चाहँदैनन्। निर्वाचन जितेर सरकारमा गए पनि निश्चित कार्यकाल तथा आफ्नो मुद्दा तथा योजना अनुमोदन नभए अरुलाई मार्ग प्रशस्त गर्छन्। यसको निम्ति स्थापित विधि र नेताको नैतिकता दुवैले काम गर्छ। तेस्रो विश्वको राजनीति भने सेवा-भावभन्दा बढी शक्ति र प्रतिष्ठाको मोहसँग जोडिएको हुन्छ। निश्चय नै शक्ति र प्रतिष्ठाको मोह प्रचण्डमा पनि छ। तर यस्तो मोह पाल्ने प्रचण्ड एक्ला पात्र भने होइनन्। अन्य नेता पनि छन्। फरक यति हो प्रचण्डका मुद्दा र योजना बढी क्रान्तिकारी थिए। यस्ता मुद्दामा संख्यात्मक हिसाबले धेरै नेपालीको आशा थियो। प्रचण्डले मुद्दा त्याग्दै जाँदा धेरै मानिस दु:खी भए। धेरै मुखबाट सुनिँदा प्रचण्डको विचलन ठूलो लागेको हो। अन्य नेता पनि प्रचण्ड शैलीबाट अछुत छैनन्।
गरिब तथा अल्पविकसित देशमा क्रान्तिकारी नेताको पछाडि भिड लाग्छ। भिडको सहयोगले सत्तारोहणको बाटो त तय हुन सक्छ। तर खुला राजनीतिमा धेरै सम्झौता गरेर अघि बढ्नुपर्ने हुन्छ। कुनै खास समयमा क्रान्ति गर्दाको जनसमर्थनले राजनीति चल्दैन। यस्तो बेला शक्ति आर्जन गरे पनि राजनीतिमा टिकिइरहनका लागि नेताले आफ्नै उद्देश्य, मुद्दा र योजना नै प्रगतिको बाधक भएको देख्छ। यस्तो बेला लामो यात्रा गर्ने उद्देश्यले इतिहास मेटाउँदै जान्छ। सिद्धान्तमा अडिग रहँदाभन्दा सत्ता र शक्तिसँग जोडिँदा बढी प्रतिष्ठा मिल्नाले नेताहरु यसो गर्न प्रेरित हुन्छन्। सत्ता र शक्तिको प्रतिष्ठाकै कारण नेताहरु लामो समयसम्म राजनीति त्याग्दैनन्। तसर्थ जीवनपर्यन्त राजनीति गर्ने सोचमा प्रचण्ड मात्र छैनन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा केपी ओली लगायत शीर्ष नेताको मनोविज्ञान उस्तै छ। तुलनात्मक रुपमा प्रभावशाली भएकाले प्रचण्डका नकारात्मक पाटाहरुको चर्चा पनि अलि बढी हुने गर्छ।
लोकतान्त्रिक पद्धतिमा टिक्नलाई भिडको मत आवश्यक छ। भिडको मत सधैं एउटै नारा जपेर हासिल हुँदैन। साथै आफू इतरका सिद्धान्त वा शक्तिसँग सम्झौता पनि गरिरहनुपर्छ।
जुन देशमा नेताले जीवनपर्यन्त राजनीतिको भर्याङ चढिरहन चाहन्छ, त्यो देशमा नेतामा प्रशस्तै सैद्धान्तिक विचलन भेटिन्छ। अमेरिकी लेखक शौल अलिन्स्कीले आफ्नो पुस्तक ‘रुल्स फर र्याडिकल्स’मा भनेका छन् सिद्धान्त र दर्शनमा अडिग रहने नेता राजनीतिमा लामो समय टिक्न सक्दैन। दुई अवस्थामा सिद्धान्तनिष्ठ हुन सकिन्छ। पहिलो, राजनीति जीवनकालभरि अँगाल्नुभएन, निश्चित समय राजनीति गरेपछि त्याग्नुपर्यो। दोस्रो, राजनीतिमा रहिरहे पनि सत्ताप्रति आसक्ति देखाउनुभएन। सत्तामोहमा लागेर लामो समय राजनीति गर्ने नेताले राजनीतिक दर्शन र सिद्धान्तलाई बिर्सन बाध्य हुन्छन्।
राजनीतिक परिदृश्यमा आफूलाई उभ्याइरहन चाहने नेता बिस्तारै ‘डेमगग’ चरित्रको हुन्छ। डेमगग भनेको आफ्नो विचार र योजना छोडेर भिडले चाहेजस्तो लोकप्रिय कुरा गर्ने नेता हो। यो चरित्रको हावा प्रचण्डमा पनि लाग्न थालेको छ। त्यही कारण उनका सिद्धान्तमा खिया लाग्दै गएका छन्। खुल्ला राजनीतिमा प्रचण्ड नेतृत्वको पार्टी सबभन्दा ठूलो दल पनि भयो। उनी स्वयं दुई पटक प्रधानमन्त्री भइसके। यद्यपि उनमा सक्रिय राजनीतिको मोह मरेको छैन। हुन त प्रचण्ड जस्ता अनुभवी नेताले सक्रिय हुनुपर्छ भन्ने मत पनि बलियो छ। किनकि तेस्रो विश्वमा कतिपय समस्या विधिभन्दा धेरै परिपक्व नेताको अनुभवले पार लगाउँछ भनेर विश्वास गरिन्छ। यो भनाइ एक हदसम्म सही पनि होला। तर नेताले आफ्ना अडान यथावत राखेर परिवक्वता हासिल गर्दैन भन्ने पनि सत्य हो।
प्रचण्ड फरक वर्ग, समुदाय, धर्म-संस्कृति र विचार भएको ठाउँमा कुनै एक दर्शन वा सिद्धान्त आधारित सत्ता स्थापना गर्न लागेका थिए। विविध खालका दमन र उत्पीडनबाट मुक्ति उनको युद्धकालीन मुद्दा थियो। यसका लागि माओवादीको सत्ता स्थापना गर्नुपर्थ्यो, तर भएन। यो काम सजिलो पनि हुन्न किनकि क्रान्ति जति बलशाली हुन्छ, स्थापित सत्ता त्योभन्दा कम हुँदैन। संघर्षको बिट मार्दै प्रचण्ड र उनको पार्टी सम्झौताको बाटो रोजेर खुला राजनीतिमा आयो। कुनै पनि सम्झौताले दर्शन, सिद्धान्त र उद्देश्यलाई सग्लो रहन दिँदैन। घाइते बनाउँछन् वा घाइते बन्ने बाटोतिर धकेल्छ। सम्झौता नगरेर युद्ध जारी राखेको भए सिद्धान्त र मुद्दा जोगिन्थे होला। तर, माओवादी र यसका नेताहरु पेरुको साइनिङ पथ जस्तो निमिट्यान्न हुन पनि सक्थे। तसर्थ, लोकतान्त्रिक पद्धतिमा टिक्नलाई भिडको मत आवश्यक छ। भिडको मत सधैं एउटै नारा जपेर हासिल हुँदैन। साथै आफू इतरका सिद्धान्त वा शक्तिसँग सम्झौता पनि गरिरहनुपर्छ। यस्तो परिवेशमा थोरै समय आफ्नो सिद्धान्तमा अडिग रहन सकिन्छ तर अनन्तकालसम्म सम्भव हुँदैन।
प्रचण्डले भनेझैं समाज अनुरुपका नेता हुन्छन्। जस्तो समाज छ, उस्तै नेता। यो यथार्थ हो तर समाजलाई सभ्य र उन्नत बनाउन नेताले नै सशक्त कदम उठाउनुपर्छ। समाज, समुदाय र देशको उत्थानमा नेता र जनताको पारस्परिक नैतिकता आवश्यक हुन्छ।
विकसित देशको राजनीतिमा घोषित वा अघोषित विधि स्थापित भएको हुन्छ। जसले राजनीतिज्ञलाई नैतिकवान् बन्न प्रेरित गर्छ। अमेरिकामा हाल मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउँछु भन्ने उद्घोष गरेका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेका छन्। उनले दुई वर्ष कार्यकाल व्यतित गर्दा पर्खाल लगाउने योजना त्याग्न सकेका छैनन्। अझ आक्रामक भएर अघि बढेका छन्। बाँकी दुई वर्षपछि उनी सत्तामा नआउन पनि सक्छन्। तर, त्यसपछि आफ्नो मुद्दा वा योजना त्यागेर सत्तामा आउने बाटो चाहिँ उनले रोज्दैनन् नै। किनकि अमेरिकामा अनन्तकालसम्म राष्ट्रपति हुन विधिले दिँदैन। साथै आवश्यक नठानिएका नेता जनमतबाटै पाखा लगाइन्छ।
अमेरिकाबाहेक अन्य देशमा नेताको नैतिकताले विधिले जतिकै काम गर्छ। बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। युरोपियन युनियनबाट बेलायत बाहिरिनुहुन्न भन्ने मुद्दा जनमत संग्रहबाट फेल भए पनि क्यामरुनले नैतिकताको आधारमा राजीनामा दिएका थिए। तर अमेरिकाको जस्तो विधि वा डेभिड क्यामरुनको जस्तो नैतिकता तेस्रो विश्वको नेतामा विरलै भेटिन्छ।
प्रचण्डले भनेझैं समाज अनुरुपका नेता हुन्छन्। जस्तो समाज छ, उस्तै नेता। यो यथार्थ हो तर समाजलाई सभ्य र उन्नत बनाउन नेताले नै सशक्त कदम उठाउनुपर्छ। समाज, समुदाय र देशको उत्थानमा नेता र जनताको पारस्परिक नैतिकता आवश्यक हुन्छ। जनता नैतिकवान् हुनुपर्छ भने नेता नैतिकवान् साथै एक कदम अगाडि सोच्न सक्ने पनि हुनुपर्छ। नैतिकता भुलेर व्यक्तिगत श्वार्थमा लिप्त मतदाताले नेतालाई पनि श्वार्थी बनाउने हो। श्वार्थी नेता सिद्धान्त विमुख भएर जीवन पर्यन्त राजनीति गर्न चाहनु दुर्भाग्य हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।