नेपालगन्ज- नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास उद्योगले उत्पादन सुरु गरेको छ।
करिब १० करोड रुपैयाँको लगानीमा स्थापना भएको उद्योगबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिन्डर अक्सिजन ग्याससहित १२ सय लिटर लिक्विड नाइट्रोजन उत्पादन हुने उद्योगका सञ्चालक गौरवकुमार श्रेष्ठले बताए।
बढ्दो जनसंख्याको चाप, बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तारका साथै अस्पतालहरुको मागलाई अध्ययन गरेर सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन उद्योग स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए।
बाँकेका युवा व्यवसायीहरु सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एचओ अक्सिजन इन्ड्रस्ट्रिज प्रालिले पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डर सहज रुपमा उपलब्ध गराउने उद्देश्यले ग्यास प्लान्टको स्थापना गरेको हो।
उद्योगबाट उत्पादन सुरु भएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्याससँगै लिक्विड उपलब्ध हुनेछ।
नेपालमा अहिले सञ्चालनमा रहेका करिब २६ उद्योगमध्ये ललितपुरको लुभुस्थित अक्सिजन ग्यास प्लान्टपछि अत्याधुनिक प्रविधिबाट अक्सिजन र नाइट्रोजन उत्पादन गर्ने उद्योगको रुपमा एचओ अक्सिजन इन्ड्रस्ट्रिज रहेको सञ्चालक श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।