ललितपुर, कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ।
कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
सोमबार यहाँ आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए।
उनका अनुसार प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बिउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री राखिएका स्टलहरु रहनेछन्। अध्यक्ष श्रेष्ठले भने,'यसबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन वृद्धि हुने हामीले आशा गरेका छौँ।'
प्रदर्शनीमा करिव १० करोड रुपैयाँ बराबरको कारोवार हुने आयोजकको दाबी छ। २० देशका झण्डै २ सय वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने अध्यक्ष श्रेष्ठ बताउँछन्। ५० हजार अवलोकनकर्ता आउने लक्ष्य लिइएको सो प्रदर्शनीमा एक सय ५० वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्नसक्ने व्यवस्था मिलाइएको छ।
यसअघि प्रदर्शनीको पहिलो संस्करण चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।