काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी मंसिरभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने बताएका छन्। नेपाल वायु सेवा निगमका उच्चपदस्थ कर्मचारीसँगको छलफलमा मन्त्री भट्टराईले आगामी मंसिरभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने बताएका हुन्।
मन्त्री भट्टराईले विमानस्थलको संख्या थपिँदै गएका सन्दर्भमा निगमलाई सबैतिर सेवा पुर्याउन सल्लाह दिँदै सो विमानस्थल निर्माणका लागि सरकारले गत चैतमा भएको लगानी सम्मेलनमा समेत खाका प्रस्तुत गरेको समेत स्मरण गरे।
लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्तासँग विमानस्थल निर्माणका लागि लगानी प्रस्ताव माग गरेको थियो।
विमानस्थल निर्माणका लागि कतारलगायत ६ वटा विदेशी कम्पनीले प्रस्ताव समेत पेस गरिसकेका छन्। लगानी बोर्डले विमानस्थल निमार्णका लागि आएका प्रस्ताव अध्ययन गर्दै आशयपत्र समेत माग्ने तयारी गरिरहेको अवस्थामा मन्त्री भट्टराईले शिलान्यास हुने समय बताएका हुन्।
लगानी बोर्डले लगानी सम्मेलनमा विमानस्थल निर्माणमा झन्डै ४ खर्ब रुपैयाँ लाग्ने खाका प्रस्तुत गरेको थियो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर चर्चा हुन थालेको एक दशक बढी भइसकेको छ।
२०६४ सालमा मन्त्रिपरिषद् बैंठकले उक्त विमानस्थल बुट मोडलमा बनाउने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कोरियाली कम्पनी ल्यान्डमार्क वर्ल्डवाइड कम्पनी (एलएमउब्ल्यु)लाई जिम्मा दिइएको थियो।
उक्त कम्पनीले २०६५ सालमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै ५ वर्षभित्र विमानस्थल निर्माण सम्पन्न हुन सक्ने जनाएको थियो। उक्त प्रतिवेदन पनि मन्त्रालयले ग्रहण गरिसकेको छ। साथै विमानस्थल निर्माणको लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ।
यो विमानस्थल निर्माणको कुरा सन् १९९० को दशकमै आएको थियो। तर, यो विमानस्थल बनाउनुपर्छ भन्ने कुरा र काम थालनी सन् २०११ बाट सुरु भएको हो।
आर्थिक वर्ष २०७०/०७१ पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको विषयमा वातावारणीय प्रभाव मूल्यांकनको काम थालनी गरेका थियो। विमानस्थलको चार किल्ला प्रमाणितको काम पनि सोही समयमा भएको थियो।
८० वर्ग किलोमिटर क्षेत्रफलमामा फैलने यो विमानस्थल निर्माणस्थलमा रहेको १ सय १० बिघा जग्गामध्ये ५५ बिघा जग्गाको मुआब्जा समेत वितरण भइसकेको छ।
आयोजनाको कार्यालय स्थायी रुपमा आयोजनास्थलमा स्थापना भइसकेको छ।
विमानस्थललाई सरकारले एसियाकै हब विमानस्थल रुपमा निर्माण गर्ने बताइसकेको छ। तर, विमानस्थल निमार्णका लागि आवश्यक डिपिआर भने तयार भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।