काठमाडौं- सेयर बजारमा कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन। सोमबार नेप्से परिसूचक शून्य दशमलब ५८ अंकले घटेर १ हजार ४ सय २ दशमलब ०९ को बिन्दुमा पुगेको छ।
परिसूचकमा सामान्य गिरावट देखिए पनि यस दिन कारोबार रकममा भने उच्च गिरावट आएको छ। सोमबार १६३ कम्पनीको ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाँको सेयर किनबेच भएका छन्। आइतबार ५० करोड ६१ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
सोमबार जलविद्युत् समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूह २३ दशमलब ४३ अंकले बढेको छ। यही समूहअन्तर्गत पर्ने सानिमा माई हाइड्रो पावरको ५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेको इन्स्योरेन्सको २ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सोमबारको कारोबारमा सर्वाधिक कमाउने लगानीकर्तामा कामना सेवा विकास बैंकका लगानीकर्ता रहेका छन्। यो बैंकको सेयर मूल्य १२ रुपैयाँले बढेको छ। त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य १ सय १४ रुपैयाँले बढेको छ। सर्वाधिक गुमाउनेमा भने बेस्ट फाइनान्सका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्यमा ६ रुपैयाँले कमी आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।