काठमाडौं– संस्थागत निक्षेपकर्तालाई बढी ब्याज दिएर निक्षेप तान्न वाणिज्य बैंकहरुबीच होडबाजी चलेपछि नेपाल राष्ट्र बैंकले यसमा अंकुश लगाएको छ।
केन्द्रीय बैंकले निर्देशन जारी गर्दै संस्थागत मुद्दती निक्षेपका लागि ब्याजदरको बोलकबोल गर्दा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म मात्र थप गर्न सक्ने व्यवस्था गरेको छ। यसैगरी ती बैंकले ब्याजदरसमेत ३ महिनासम्म परिवर्तन गर्न पाउनेछैनन्।
वाणिज्य बैंकहरुले निक्षेप तान्नका लागि धेरै निक्षेप राख्ने सेना, प्रहरी, दुरसञ्चार कम्पनीहरुलाई उच्च ब्याजदर दिने गरेका छन्। संस्थागत निक्षेप तान्न बैंकहरुले छिटोछिटो ब्याजदर बढाउने र यसमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि राष्ट्र बैंकले लगाम लगाएको हो।
बैंकहरुले सर्वसाधारणलाई भन्दा संस्थागत निक्षेपकर्तालाई उच्च ब्याज दिँदै आएका छन्। बैंकमा तरलता अभाव भएको अवस्थामा संस्थागत निक्षेप तानातान हुँदा ब्याजदर छिटोछिटो बढ्ने गरेको छ।
एक लाखभन्दा बढीको अन्तरबैंक कारोबारमा परिचयपत्र अनिवार्य
एक बैंकबाट अर्को बैंकमा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा पनि ग्राहकले परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तो कारोबारमा बैंकहरुले ग्राहकसँग पहिचान खुल्ले कागजपत्रका साथै नगद जम्मा गर्नुपर्ने प्रयोजन समेत खुलाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ।
यस प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले तिर्नुपर्ने सेवाशुल्कबारे पनि ग्राहकलाई जानकारी दिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।