काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा देशको व्यापार घाटा ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो।
घट्दो निर्यातदर र बढ्दो आयातका कारण व्यापार घाटा चुलिँदै गएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको समग्र आर्थिक तथा वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पाँच महिनासम्ममा निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ। नेपालको पशु आहार, वनस्पति घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जिआई पाइप, ऊनी गलैंचा, तामाका तार लगायतका वस्तुको निर्यात घटेको छ।
त्यस्तै, नेपालमा आयात हुने वस्तु १२.८ प्रतिशतले बढेर ४ खर्ब ३१ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ।
पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, सुन, एमएस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ।
मूल्यवृद्धि
त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा मूल्यवृद्धि ४.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा ३.८ प्रतिशत मात्र मूल्यवृद्धि थियो।
अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि बढ्नुमा खाद्य तथा पेय पदार्थ समूहको प्रमुख भूमिका रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक तथा वित्तिय अवस्थामा उल्लेख छ।
रेमिट्यान्स आप्रवाहमा कमी
रेमिट्यान्स आप्रवाहदरमा पनि कमी आएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा ०.८ प्रतिशतले ह्रास भई २ खर्ब ८५ अर्ब ४८ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।