काठमाडौं- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले माघ ११ बाट सञ्चालन गर्न लागेको सुविसु क्यान इन्फोटेकको तयारी पूरा भएको जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा सञ्चार प्रविधिको जानकारी गराइने सूचना-प्रविधि मेलाको सम्पूर्ण तयारी पूरा भएको क्यान महासचिव रञ्जितकुमार पोदारले बताए।
सन् १९९५ देखि काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यानले यस वर्ष २४औं संस्करणको मेला आयोजना गर्न लागेको हो। यस वर्ष पनि क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुविसु केबलनेट प्रालि तथा एसोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रालि रहेको क्यानले जनाएको छ।
सूचना-प्रविधिको यो मेला माघ ११ माघ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरूको सहभागिता रहने बताइएको छ।
मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने आयोजकले जनाएको छ।
मेलामा सर्वसाधारणलाई प्रवेश शुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। माघ १४ गते बिजनेस डेको रुपमा घोषणा गर्दै सो दिन भने प्रवेश शुल्क सबै अवलोकनकर्तालाई एक सय रुपैयाँ नै तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।