काठमाडौं- महिला उद्यमीहरुलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको चौथो युवा महिला उद्यमशीलता सम्मेलन सकिएको छ। लक्ष्मी बैंकले प्रायोजन गरेको सम्मेलनमा विभिन्न व्यवसायमा आबद्ध १ सय ७० भन्दा बढी महिला तथा विद्यार्थी सहभागी थिए।
सम्मेलनकी अध्यक्ष जुना माथेमाले सन् २०१३ देखि हुँदै आएको सम्मेलनमा वर्षैपिच्छे महिला उद्यमीहरुको संख्या बढ्दै गएको र यस वर्ष अझ विशेष भएको बताइन्। युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरबाट मात्रै २० जना महिला सहभागी भएको जानकारी दिँदै उनले महिलाहरुमा आफूले केही गर्नुपर्छ भन्ने भावना बढेको उल्लेख गरिन्।
कार्यक्रममा सन् २००८ मा सगरमाथा आरोहण गरेकी शैली बस्नेतले सफल हुनका लागि जीवनको अन्तिम अवस्थासम्म संघर्ष गर्नुपर्ने भन्दै प्रेरणादायी अभिव्यक्ति दिइन्। उनले सगरमाथासम्मको आफ्नो यात्रा र आफू कसरी उद्यमी बनेको जस्ता विषयमा अनुभव बाँडेकी थिइन्।
कार्यक्रममा सेवा पाठक (भायनेट), अनिशा शाक्य मुस्कान, प्राथना शाखा (हेल्मेट नेपाल) लगायत उद्यमीले आफ्नो उद्यमशीलता यात्राबारे जानकारी गराएका थिए। प्यानल डिस्कसनमा काजी स्टुडियोकी कृति शाक्य, महिला लिड नेपालमा क्लेयर नेल्लर र हाइड्रो सोलुसनकी निभिता प्रधानले महिला उद्यमशीलताबारे चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।