काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासिकमा सिटिजन्स् बैंकको नाफा घटेको छ। बैंकले शनिबार प्रकाशित गरेको लेखा परीक्षण नभएको –अपरिस्कृत) वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षमा ६२ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। जबकि अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६३ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकको खराब कर्जा वृद्धि भई जोखिम व्यवस्था बापत छुट्याउनुपर्ने रकम वृद्धि भएपछि नाफामा असर परेको हो। चालु आवको पुससम्ममा बैंकको खराब कर्जा १ दशमलब ९४ प्रतिशत पुगेको छ। अघिल्लो आवको यसै अवधिमा खराब कर्जा १ दशमलब ३२ प्रतिशत थियो।
बैंकले चालु आवको पुससम्ममा १३ करोड ६५ लाख जोखिम बापत छुट्याएको छ। जबकि अघिल्लो आवको यसै अवधिमा बैंकले ११ करोड ९६ लाख जोखिम व्यवस्था बापत रकम छुट्याएको थियो।
०७४ पुससम्म बैंकको खुद ब्याज आम्दानी भने १२ करोड रुपैयाँ वृद्धि भई ९७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्ममा बैंकले ५८ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५२ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ ७८ पैसा छ। पुसको अन्तिम दिन सेयर बजारमा बैंकको मूल्य प्रतिसेयर २ सय ८५ रुपैयाँ थियो।
बैंकहरुको पुँजी वृद्धि अनुसार लगानी विस्तार गर्न नसक्दा नाफामा असर परेको बैंकहरुले बताउँदै आएका छन्। लगानी गर्ने पुँजीको अभाव भएपछि पछिल्लो एक महिनायता बैंकहरुले नयाँ कर्जा प्रवाह समेत गर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।