कोक्स बजार (बङ्गलादेश)- म्यानमारमा स्थानीय रोहिंग्या समुदायका नागरिककामाथि ज्यादती भएपछि देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ।
पछिल्लो समय गएको अगस्ट २५ तारिखदेखि म्यानमारमा हिंसा भड्किएको थियो। त्यसपछि रोहिंग्याहरु देश छोड्न बाध्य भएका छन्। उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन्।
म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान गएको अधिकारीहरुले बताएका छन्। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन्।
म्यानमारको रोहिंग्या मुस्लिम समुदायका झन्डै ३ लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि समुदायमाथिको ज्यादतिको विषयमा विश्वभर आवाज उठेको छ। उनीहरु शरणार्थीका रुपमा अन्य विभिन्न देश समेत छिरेका छन्।
राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दसौं हजार व्यक्ति विस्थापित भएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।