ललितपुर- नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन सुरु भएको छ।
नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट) ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तर लगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ। टोलीमा डा.जयकान्त राउत, डा.रामचन्द्र पौडेल र डा.लोकरञ्जन भट्ट सामेल रहेका नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताए।
उनले भने, 'यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ।'
यार्सागुम्बाको गुणस्तरका हिसाबले डोल्पा पहिलो र दार्चुला दोस्रो भनिए पनि त्यो हचुवाका भरमा मात्र प्रचार भएको डा.पौडेलले दाबी गरे। उनले भने,'हामी त्यस सम्बन्धमा अनुसन्धान गरेपछि नै ठोस रुपमा भन्न सक्नेछौँ।'
यार्सागुम्बा संकलकले भनेअनुसार पाटनमा यार्सागुम्बा कम हुँदै गएको छ। यार्सागुम्बाको उत्पादन नै कम हो/होइन बुझ्न र कम भएका कारण पत्ता लगाई संरक्षणमा लाग्नुपर्ने खाँचो देखिन्छ । संकलकका कारण पाटनमा अरु खालका वनस्पति मासिए पनि त्यसको संरक्षणको उपायसमेत आवश्यक भएको डा.पौडेलले तर्क गरे।
यार्सागुम्बाको स्रोत भएका जिल्लामा आर्थिक मात्रै नभएर सामाजिक जीवनसमेत त्यससँग जोडिएको टोलीका अर्का सदस्य डा.भट्टले बताए। विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनमा त्यस क्षेत्रमा यार्सागुम्बाले आर्थिक क्रियाकलाप बढाएको उल्लेख छ। 'यार्सागुम्बा हिमाली र पहाडी क्षेत्रका लागि वरदान बनेको छ। केही महिना काम गरेर धेरै संकलक बाँकी समय काम नगरी बस्ने गरेका छन्', उनले चिन्ता व्यक्त गर्दै भने,'त्यसले गर्दा एकातिर आर्थिक समृद्धिमा सहयोग पुगेको छ तर अर्कातिर खेतीपाती हुन छाडेको छ।'
बर्सेनि यार्सागुम्बा टिप्ने समयमा विद्यालय र गाउँ नै सुनसान हुने गरेको छ। टोलीले स्थानीय तहमा गरेका अन्तरक्रिया अनुसार सो क्षेत्रका बालबालिकाको आँखा तेजिलो हुनाका कारण उनीहरुलाई पनि यार्सागुम्बा टिप्न अभिभावकले लैजाने गरेकोले हो। संकलकका बीचमा प्रतिस्पर्धा हुने कारणले परिवारका धेरै सदस्य यार्सागुम्बा खोज्न लैजाने गरेको पाइन्छ।
टोलीले बालबालिकाको अध्ययनमा असर नपुर्याउन अभिभावकलाई सम्झाउनेसमेत योजना रहेको जानकारी दियो। डा भट्टले भने,'हामीले गर्ने अध्ययन विज्ञानमा आधारित भए पनि केही हदसम्म सामाजिक समस्या पत्ता लगाउनसमेत हितकर हुनेछ।'
यार्सागुम्बाको उत्पादन कम भएको संकलकले बताए पनि त्यससम्बन्धी अध्ययन नभएको डा राउतले बताए। त्यो अत्याधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तन लगायत कारण हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन्।
चीनका धेरै यार्सागुम्बा पाइने ठाउँ अहिले मरुभूमिमा परिणत भइसकेका कारण पनि नेपालले धेरै कुरा सिक्नुपर्नेमा उनी जोड दिन्छन्। यार्सागुम्बा मात्रै होइन संकलनकर्ता धेरै संख्यामा जाँदा उनीहरुले कुल्चँदा अरु जडीबुटी मासिने र दाउराका लागि काठ प्रयोग हुँदा जंगल फँडानी बढेको छ । डा राउत थप्छन्,'त्यसैले पनि अहिले हाम्रो ध्यान संरक्षणमा केन्द्रित गर्नुपर्छ ।'
एक वर्ष एक ठाउँको र अर्को वर्ष अन्यत्रको टिप्न सकिने उनले सुझाए। गुणस्तर कायम रहने गरेर यार्सागुम्बाको कृत्रिम उत्पादनसमेत गर्न सकिन्छ तर स्थानीयस्तरमा नै अध्ययन/अनुसन्धान नहुँदा कृत्रिम उत्पादनको पहल भएको छैन।
विश्वमा पाइने ५ सय ४० प्रजातिमध्ये नेपालमा १७ प्रजातिका यार्सागुम्बा पाइन्छ । ओफियोकोर्डिसेप्स साइनेन्सिस जातको यार्सागुम्बा नेपालमा मात्रै पाइन्छ। नेपालका २७ हिमाली र पहाडी जिल्लाका चौँरीखर्क र घाँसे मैदानमा यार्सागुम्बा पाइन्छ। डोल्पा र दार्चुलासँगै संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला लगायत जिल्लामा व्यावसायिक रुपमा यार्सा संकलन हुने गरेको छ।
नेपाल दोस्रो यार्सागुम्बा उत्पादक देश हो। पहिलो यार्सा उत्पादक भने चीन हो। जहाँ सन् २०१४/१५ मा ४ अर्ब ९२ करोड मूल्य बराबरको यार्साको व्यापार भएको एक तथ्यांक छ। ठूलो परिमाणमा अवैध रुपमा समेत यसको बिक्री हुने गरेको पाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।