काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुन थालेपछि वाणिज्य बैंकहरुले नयाँ कर्जा लगानीमा रोक लगाएका छन्।
बजारमा रकम अभाव भएको गुनासोका बीच शुक्रबार नेपाल राष्ट्र बैंकले पनि १० अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोलमा सार्वजनिक गर्ने घोषणा गर्यो। तर रोचक कुरा, राष्ट्र बैंकले यति धेरै अनुपातमा विकास ऋणपत्र बोलकबोलमा बिक्री गरी रकम बजारमा प्रवाह गर्न खोज्दा एउटा मात्र वाणिज्य बैंकले ४० करोड रुपैयाँ मात्र लियो। यसले वाणिज्य बैंकहरूले तरलता अभाव भनेर गरिरहेको पछिल्लो दाबीमा कुनै सत्यता नभएको दर्शाएको छ।
राष्ट्र बैंककै अधिकारीहरू वाणिज्य बैंकले भने जस्तो लगानीयोग्य पुँजीको अभाव नभएको दाबी गर्छन्।
‘नयाँ कर्जा लगानीमा केही समस्या देखिएको हो,' राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, तर बैंकहरुले भने जस्तै तरलताको अभाव होइन।’ उनी यस्तो अवस्था आउनुमा अन्तरबैंक ब्याजदर घटेको र राष्ट्र बैंकले बजारमा पठाउन लागेको पैसामा कसैले चासो नदिएको बताउँछन्।
बैंकहरु भने कर्जा पुँजी र निक्षेप (सिसिडी) को अनुपात राष्ट्र बैंकले तोकेको सीमासम्म पुग्न लागेकाले नयाँ लगानी बन्द गर्नुपरेको दाबी गर्छन्।
एक वाणिज्य बैंकका सिइओ भन्छन्, ‘राष्ट्र बैंकले शुक्रबार जारी गरेको विकास ऋणपत्रमार्फत लिने पैसाले नयाँ कर्जा लगानी गर्न मिल्दैन। त्यसैले बैंकहरूले चासो नदिएको हो।’ उनी नयाँ कर्जा दिने अवस्था बनाउन सिसिडी गणनामा सहुलियत वा पुनर्कर्जा आवश्यक रहेको बताउँछन्।
विश्लेषकहरू भने वाणिज्य बैंकहरूको पुँजी वृद्धि भएपछि उनीहरूले नाफा कमाउन घरजग्गा, शेयर, गाडी लगायत अनुत्पादक काममा अन्धाधुन्ध लगानी गरेकाले पुँजी अभाव देखिएको बताउँछन्।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली भन्छन्, ‘बैंकहरूले निक्षेप बढाउन कुनै प्रयास गरेनन्, नाफामुखी मात्र भए। अनुत्पादक क्षेत्रमा लगानी गर्दा यो अवस्था आएको हो।’
विकास बैंक र फाइनान्स कम्पनी सहज अवस्थामा
वाणिज्य बैंकहरूको आफ्नै तर्क भए पनि विकास बैंक र फाइनान्स कम्पनी भने लगानी बन्द नै गर्नुपर्ने अवस्था नरहेको बताउँछन्। बजारमा तरलता अभावको विषय वास्तविकताभन्दा हल्ला बढी भएको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकाल बताउँछन्।
‘बजारमा केही वाणिज्य बैंकहरूमा तरलता अभाव सिर्जना भएको हो तर यसैको आधारमा सम्पूर्ण बैंकिङ क्षेत्रमा नै तरलता अभाव भयो भन्न मिल्दैन,’ उनको भनाइ छ।
विकास बैंकमा साना निक्षेपकर्ता धेरै हुने गर्छन्। र, थोरै कर्जा प्रवाह गर्ने हुनाले वाणिज्य बैंकमा जस्तो समस्या विकास बैंक र फाइनान्स कम्पनीमा नदेखिएको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले बताए। विकास बैंकमा व्यक्तिगत निक्षेप बढी भएकाले पनि सजिलो भएको उनी बताउँछन्।
वित्तीय संस्था संघका सचिव अनिल श्रेष्ठले पनि फाइनान्स कम्पनीहरुमा तरलता अभाव नभएको बताए। बजारमा तरलता अभाव अनावश्यक हल्ला भन्दै उनी फाइनान्स कम्पनीहरू निक्षेप र कर्जा दुवैमा सबल रहेको दाबी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।