रसुवा– रसुवागढी भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन भएको हो। २०७२ सालको भूकम्पपछि चीनसँगको प्रमुख नाका तातोपानी भन्सार बन्द भएसँगै चीनतर्फबाट आयात हुने सामान रसुवागढी नाका हुँदै आउने गरेको छ। ६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले १ अर्ब ६१ करोड राजश्व संकलन गरेको भन्सार प्रमुख गोपाल कोइरालाले बताए।
कोइरालाले भने, ‘६ महिनामा राजश्व संकलनको लक्ष्य नेपाल टेलिकमको सामग्री भन्सार यार्डमा रोकिएकाले पूरा हुन सकेन। आगामी महिनामा हामी लक्ष्य अनुसार नै राजश्व संकलन गर्नेछौं।’
६ महिनामा यस्तो रह्यो राजश्व असुली
लक्ष्य १ अर्ब ६७ करोड २३ हजार
असुली १ अर्ब ६० करोड ९६ लाख १० हजार
(३ दशमलब ६२ प्रतिशतले कमी)
साउन
लक्ष्य २५ करोड ४१ लाख ३३ हजार
असुली ६ करोड ४३ लाख ५ हजार
भदौ
लक्ष्य २९ करोड ४ लाख ३९ हजार
असुली ४८ करोड ५८ लाख ८२ हजार
असोज
लक्ष्य २५ करोड ४१ लाख ३४ हजार
असुली १० करोड ४४ लाख ५७ हजार
कात्तिक
लक्ष्य २९ करोड ४ लाख ३९ हजार
असुली ३३ करोड ५९ लाख १२ हजार
मंसिर
लक्ष्य २९ करोड ४ लाख ३९ हजार
असुली ३० करोड ८२ लाख ४२ हजार
पुस
लक्ष्य २९ करोड ४ लाख ३९ हजार
असुली ३१ करोड ८ लाख १२ हजार
राजश्व प्रभावित हुनुका कारण
विभिन्न चाडपर्व, निर्वाचन, चिनियाँ पक्षले बाटो मर्मतसँगै विभिन्न कारण देखाउँदै नाकामा अवरोध हुँदा राजश्व असुलीमा असर परेको भन्सार कार्यालयले जनाएको छ। ल्होसार चाडका कारण अझै एक महिना नाकामा आवतजावत कम हुने हुँदा राजश्व संकलनमा प्रभाव पर्न सक्ने कार्यालयले जनाएको छ।
रसुवागढी भन्सार कार्यालयले माघ महिनामा २९ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ। ल्होसारका कारण आयात प्रभावित हुने भए पनि भन्सार यार्डमा ४० भन्दा बढी मालबाहक कन्टेनर रहेकाले लक्ष्य अनुसारको राजश्व असुली हुने भन्सार प्रमुख कोइराला बताउँछन्।
अहिले केरुङबाट नेपालतर्फ रेडिमेड कपडा, जुत्ता–चप्पल, विद्युतीय सामान, स्याउ लगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट चीनतर्फ मैदा, धुप, चाउचाउ लगायतका सामग्रीहरु जाने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।