यांगुन– म्यानमारकी राज्य सल्लाहकार आङ साङ सू ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन्। सू चीले महासभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले जनाएको छ।
म्यानमारमा पछिल्लो समय रोहिंग्या समुदायमाथि भएको हिंसापछि उत्पन्न विवादका कारण उनी महासभाको बैठकमा उपस्थित नहुने भएकी हुन्।
हिंसा भड्किएपछि म्यानमारको रोहिंग्या मुस्लिम समूदायका झन्डै ३ लाख मानिस भागेर बङ्गलादेशमा विस्थापित भएका छन्। रोहिंग्यामाथि म्यानमार सेनाले ज्यादती गर्दा समेत सू ची मौन बसेको भन्दै उनको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको छ। यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल हुँदैछ।
म्यानमार सरकारका प्रवक्ता जा एचतेले भने, 'सू चीले संयुक्त राष्ट्रसंघीय महासभामा आफ्नो उपस्थिति जनाउनुहुने छैन, उहाँले सो भ्रमण रद्द गर्नुभएको छ।'
सू ची आगामी साता संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने कार्यक्रम तय भएको थियो। महासभामा उनी उपस्थित नहुने कुरा सरकारका प्रवक्ताले विज्ञप्ति जारी गरी जानकारी गराएका हुन्।
राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै भएको यातनाका कारण दशौँ हजार मानिस राखिन राज्यभित्रै पनि विस्थापित भएका छन्। विस्थापितहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारबिना बस्न वाध्य छन्।
गत अगस्ट २५ देखि रोहिंग्यामाथि सेनाको धरपकड सुरु भएको थियो। सेनाबाटै ज्यादति भएपछि रोहिंग्याहरु देश छोडेर भागेका हुन्। यो घटनामा प्रजातन्त्रवादी नेतृ सू ची मौन बसेको र सेनाले ज्यादति नगरेको भन्ने अभिव्यक्ति दिएपछि उनको सर्वत्र विरोध भएको छ। राष्ट्रसंघको महासभामा उठ्न सक्ने प्रश्नहरुको सामना गर्न नसक्ने भएरै सू चीले महासभा बैठकमा जाने कार्यक्रम रद्द गरेको बताइन्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।