बुटवल- कर्तव्य ज्यान तथा डाकासम्बन्धी अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुका ४८ वर्षीय बादशाह भनिने नसिम खाँलाई जिल्ला अदालत कपिलवस्तुले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। कपिलवस्तु अदालतले मंगलबार खालाई जेल चलान गर्ने आदेश दिएको हो।
कपिलवस्तुको मायादेवी गाउँपालिका-४ पिपराका खाँमाथि ८ वटा जघन्य अपराधका मुद्दा चलाइएको छ। खाँविरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँकासम्बन्धी मुद्दा रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।
जिल्ला न्यायाधीश भरतमणि खनालको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ६७, सोही दफाको ८० अनुसार खाँलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको अदालतका श्रेस्तेदार लेखनाथ अर्यालले बताए।
यसअघि खाँलाई अदालतले डाँका/चोरी मुद्दामा २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय सुनाएको थियो। मुद्दा लागेपनि राजनीतिक पहुँचका आधारमा खाँ लुकीछिपी बस्दै आएका थिए। १३ वर्षदेखि भारतको अलिगढवामा बसेर खाँले अपराधिक क्रियाकलाप गर्दै आएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेयले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट गत असार २१ गते पक्रेको थियो।
अदालतका श्रेस्तेदार अर्र्यालका अनुसार घटनापछि फरार खाँ विरुद्धको मुद्दा मुल्तबीमा राखिएको थियो। प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गरेपछि ४ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा ब्युँतिएको अर्यालले बताए। ती ४ मध्ये २ वटा मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ भने २ वटा मुद्दामा तारेखमा राखेर कारबाही प्रक्रिया अघि बढाउन न्यायाधीश खनालले आदेश दिएका छन्।
आफ्ना श्रीमान् प्रेम परियारको हत्यामा श्रीमती शान्ता परियारले दिएको जाहेरी तथा शिवपूजन कुर्मीको हत्यामा बाबु ओम प्रकाश कुर्मीले दिएको जोहेरीमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो। प्रेम परियारको हत्याको मुद्दामा श्रवण कुमार मौर्यलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको थियो। मौर्य कारागारमा छन्।
नसिमले २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका-३ का धर्मराज बरईका छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप पनि छ। उक्त मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुल्तबीमा र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका-१ का सन्दीपकुमार गुप्ताको जिप रोकी बन्दुक देखाएर २ लाख डकैती गरेको मुद्दा सर्वोच्चमा मुल्तबीमा रहेको छ।
यस्तै २०६४ फागुन ६ गते कपिलवस्तु मोतिपुरका प्रेम परियारलाई गोली हानी हत्या गरेको, २०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका-१० की अकाला कोहारलाई गोली हानी हत्या गरेको र २०६५ कार्तिक ९ गते साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानी हत्या गरेको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रहेको छ।
यस्तै २०६७ बैशाख १३ गते कपिलवस्तु जिल्ला पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्दा जिल्ला अदालत कपिलवस्तुमा थियो। यस्तै २०६४ चैत्र ९ गते कपिलवस्तु हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको मुद्दा कपिलवस्तु जिल्ला अदालतमा पेश भएको तथा २०७४ फागुन ३ गते पिपराका ४ वर्षीय बालक मोहम्मद अहेमानको हत्या गरी फरार भएको मुद्दा प्रहरीको अनुसन्धानमा रहेको छ।
२०६९ सालमा तत्कालीन एमालेको सदस्यता पाएका नसिमले नेकपाका जिल्ला र केन्द्रीय नेतासँग उठबस भएकाले उनी नेपालमा निर्धक्कसँग हिड्ने गरेका थिए। भारतको अलिगढवामा केन्द्र बनाएर उनले आफ्नो अपराधिक जालो फैलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
२०६३ सालतिर तराईको भूमिगत संगठन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चामा कमान्डर बनेर उनी अपराधमा संलग्न भए। अपराधमा नसिमसहित यशोधरा गाउँपालिका-१ पुन्नीहवाका श्रमणकुमार मौर्य, शुद्धोधन गाउँपालिका हथिहवाका धर्मेन्द्र सिंह संलग्न रहेको प्रहरी उपरीक्षक दीप शमशेर राणाले बताएका छन्। ३ जना नै अहिले कारागारमा रहेको उनले बताए।
सम्बन्धित समाचार
७ जनाको हत्यामा संलग्न नसिम पूर्व एमालेका सदस्य, मन्त्रीसँग एउटै मञ्चमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।