८ जनाको हत्यामा संलग्न नसिम पूर्व एमालेका सदस्य, मन्त्रीसँग एउटै मञ्चमा

नेपाल लाइभ | २०७६ असार २१ शनिबार | Saturday, July 06, 2019 १४:२५:०० मा प्रकाशित

काठमाडौं- कर्तव्य ज्यान र डाँका मुद्दाका 'फरार' रहँदै आएका नसिम अमम्मद मुसलमानलाई प्रहरीले आज सिनामंगलबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी ८ जनाको हत्यामा संलग्न थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका नसिमले तत्कालीन नेकपा एमालेबाट २०६९ मंसिर १० गते सदस्यता लिएको पाइएको छ। एमालेकै संरक्षणमा रहेका उनी हत्या, डकैतीमा संलग्न रहे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन।

पछिल्लो समय उनी २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न थिए। उनी मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन्। त्यसपछि फरार उनी अहिले पक्राउ परेका सिआइबीका एसपी दीपक रेग्मीले जानकारी दिए। 

गत पुसमा खान कृषिमन्त्री चक्रपाणि खनाल र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलसँगै मञ्चमा देखापरेका थिए। कपिलवस्तुको मायादेवी– २ मा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा उनी देखिए पनि प्रहरीले उनलाई पक्राउ गरेन।

उनीमाथि कर्तव्य ज्यानका र डकैतीका मुद्दा सर्वोच्च, उच्च र जिल्ला अदालतमा विचाराधीन छन्। २०६७ बैसाख १३ गते कविलवस्तुकै साबिक पकडी गाविस ६ का राजेन्द्र तिवारीको हत्यामा पनि उनी संलग्न थिए। २०६५ असोज ९ गते कविलस्तुकै पिपरा गाविस सचिव राम मिलनप्रसाद गुप्ताको गोली हानी भएको हत्यामा पनि उनी जोडिए। २०६१ सालमा माओवादीविरुद्ध गठन गरिएको प्रतिकार समितिको नेतृत्व गरेका खान त्यसबेला ६ जनाको हत्याको मुख्य योजनाकार थिए।

(मुख्य तस्बिर स्रोत: हिमाल खबर)