सुनसरीमा शनिबार बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्दै देउवा। तस्बिर : रासस
काठमाडौं- वर्षायामको सुरुवातमै ४ दिनसम्म देशभर अविरल वर्षा भयो। वर्षापछिको बाढी, पहिरो तथा डुवानका कारण ९० जनाको मृत्यु भयो।
गृह मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्दार गरिएको छ। २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका थिए।
लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरका जनता प्रभावित भए। पहाडी क्षेत्रमा जनको क्षति धेरै भएको छ भने तराईका जिल्लामा धनको क्षति धेरै हुन पुग्यो।
विपत्तिले निम्त्याएको दुःखदायी परिस्थितिमा देश तथा विदेशबाट पनि नेपालीहरुले सहानुभूति प्रकट गरेकै छन्। कतिले शाब्दिक सहानुभूति प्रकट गरेका छन् भने कतिपयले भौतिक रुपमै राहत तथा उद्धारमा खटिएर मानवीय धर्म र सहानुभूति जताइ रहेका छन्।
राजनीतिक तहबाट प्रकट भएका सहानुभूतिमा विशेष गरि कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहार अर्थपूर्ण छ।
देउवा बाढी डुबानले बढी ग्रसित तराई-मधेसका जिल्लाको दौडाहामा छन्। यसको सुरुवात उनले ३० असारमा विज्ञप्ति निकालेर गरेका थिए। जतिबेला अविरल वर्षा रोकिएको थिएन, तर विपत्तिको असर देखिन भने सुरु भइसकेको थियो।

प्राकृतिक विपत्तिको यस समयमा कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने उनले विज्ञप्ति मार्फत जनाएका थिए।
पछिल्ला ४ दिन
देउवा साउन महिनाका पछिल्ला ४ दिन लगातार बाढी प्रभावित तराई-मधेसका जिल्ला निरीक्षणमा छन्।
साउन १ गते देउवा बाढीपीडितहरुको अवस्था बुझ्न रौतहट पुगे। उनले बाढी प्रभावित रौतहटको गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी र दुर्गा भगवति गाँउपालिकाको १, २, र ५ नम्बर वडा तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरे।
निरीक्षणकै क्रममा देउवाले सरकारप्रति असहमति पनि जनाए।
प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाउँदै देउवाले विपद्का बेला सिंगो देश एकजुट हुनुपर्नेमा सरकार आफ्नै दम्भमा हिँडेको समेत बताए।
रौतहट गृह जिल्ला भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालप्रति पनि उनले आफ्नो आलोचना सोझ्याएका थिए। जनताप्रति संवेदशील नभई हेलिकोप्टर चार्टर गरी घुम्ने काम गरेको भन्दै उनले नेता नेपालको आलोचना गरेका हुन्।
नेता नेपाल गत बुधबार मन्त्रीहरुको जम्मो टोलीसहित गृहजिल्ला रौतहट पुगेका थिए। अनुगमनमा जाँदा स्थानीय पीडितसँग कुराकानी समेत नगरी हेलिकोप्टरबाटै अनुगमन गरेर फर्किएको भन्दै उक्त टोलीको आलोचना भएको थियो।
साउन २ मा सभापति देउवा महोत्तरीका बाढी तथा डुवान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गए। बर्दिवास पुगेका स्थानीय पीडितका कुरा सुनेका देउवाले सबै आग्रह/पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए।
साउन ३ गते देउवा तराईको अर्को जिल्ला सप्तरी पुगे। सप्तरीको बाढीबाट अतिप्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा उनले सरकामाथि आक्रोस पोखे।

सदनको नियमित एजेण्डा स्थगित गरेर बाढीपीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद् बैठक स्थगित गरेको भन्दै उनले आक्रोस पोखेका थिए।
सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनले आरोप लगाए। चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरूले जनता ५ दिनदेखि भोको र अनिदो रहँदा पनि वास्ता नगरेको उनले सप्तरी निरीक्षणका क्रममा आरोप लगाएका थिए।
बाढीपीडितहरुसँग कुराकानी गर्नुका साथै उनी बाढीले कटान गरेका स्थलहरुको समेत निरीक्षण गर्न निस्किएका थिए। सो क्रममा उनले राहत र पुनर्स्थापना तथा दिगोरुपमा समस्या समाधानका लागि संसद्मा जोडदार आवाज उठाउने प्रतिवद्धता पनि जनाएका थिए।
साउन ४ गते पनि देउवा बाढी प्रभावित तराईकै जिल्लामा रहे। उनले शनिबार सुनसरीमा बाढीले क्षति पुर्याइएका स्थान तथा पीडितहरुसँगै बिताए। उनीहरुका समस्या तथा गुनासा सुने। र राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई आग्रह समेत गरे।
देउवाको मधेस स्वार्थ
आफ्ना केही मन्त्रीहरुलाई बाढी प्रभावित क्षेत्रमा पठाए पनि प्रधानमन्त्री केपी शर्मा ओली आफैं भने निरीक्षणमा निस्किएनन्। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बाढी प्रभावित जिल्लाको निरीक्षणमा अहिलेसम्म निस्किएका छैनन्।
तर, देउवा भने प्रभावित क्षेत्रमा लगातार पुगिरहेका छन्, किन?
बाढी प्रभावितप्रति सहानुभूति देखाउँदै तराई-मधेसको दौडाहामा देउवा निस्कनुमा उनको राजनीतिक स्वार्थ पनि छ।
खासगरी विसं २००३ मा विराटनगर जुट मिलमा औद्यौगिक मजदूरहरूले हडतालको नेतृत्व गरेर स्थापित भएको कांग्रेसको जग भनेकै तराई-मधेस क्षेत्र हो। प्राय: चुनाव तराईकै मतले जित्ने गरेको कांग्रेस भने पछिल्लो समय मैदानी भू-भागमा खुम्चिन पुगेको छ।
खासगरी तराईमा क्षेत्रीय दलको आगमनसँगै कांग्रेसको मतमा कटौती हुन थालेको हो। २०६४ सालको पहिलो संविधानसभा चुनावयता उसको तराईको मत निरन्तर घटिरहेको छ।
समयक्रमसँगै पछिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसको अवस्था निकै कमजोर बन्न पुग्यो। प्रत्यक्ष तर्फको कूल १६५ निर्वाचन क्षेत्रमध्ये २३ सिट मात्रै जित्न सकेको कांग्रेसले तराईमा १६ सिट मात्रै जित्यो।
जबकि मैदानी भू-भागलाई आधार बनाएका पार्टीहरु राष्ट्रिय जनता पार्टी (राजपा)ले ११ र तत्कालीन संघीय समाजवादी फोरम नेपालले १० सिट ल्याउन सफल भएको थियो।

०६२/६३ को जनआन्दोलजपछि मधेश केन्द्रित राजनीतिमा जमेका यी दुई दलले कांग्रेसभन्दा बढी क्षेत्रमा चुनाव जित्न सफल भए। कांग्रेस र देउवाको स्वार्थ यहींनेर हो।
आफ्नो पकड क्षेत्र तराई आफूहरुबाट फुत्किन लागेको चिन्तामा रहेका देउवाले प्राकृतिक प्रकोपलाई राम्रो अवसरको रुपमा प्रयोग गरेको हुनसक्छ।
विपद्पीडित स्थानीय जनताका घरआँगनमा गएर स्थानीयका दुःखमा सहानुभूति प्रकट गर्ने र उनीहरुका मन जितेर गुमेको साख फर्काउने रणनीति उनको घुमघामको ‘ट्रेन्ड’ले देखाउँछ। यसमा कांग्रेसका केही प्रभावशाली नेताहरु पनि सहमत रहेको बताउँछन्।
कांग्रेसका एक केन्द्रीय सदस्यले नजिकिँदै गरेको पार्टी महाधिवेशनमा आफ्नो पक्षको अवस्था बुझ्नु र सोहीअनुसार आफ्नो पक्ष बलियो बनाउनु पनि उनको अर्को अभिष्ट रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।