काठमाडौं– नेपाल लाइभको प्रधान सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन्। नेपाल लाइभ पब्लिकेशन सञ्चालक समितिले बिहीबार दाहाललाई नियुक्त गरेको हो।
नेपाल लाइभको अनामनगरस्थित कार्यालयमा पब्लिकेशनका अध्यक्ष अनिल न्यौपानेले दाहाललाई नियुक्ति पत्र प्रदान गर्दै स्वागत गरे। उनले दाहालको सम्पादकत्वमा नेपाल लाइभले अझै उचाइ लिने विश्वास व्यक्त गरे।
करिब तीन दशकदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ३ का दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए। कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, स्वतन्त्र समाचार सेवा, नयाँ पत्रिका दैनिक, इमेज च्यानल टेलिभिजन, दी राइजिङ नेपाल अंग्रेजी दैनिकमा विभिन्न भूमिका निर्वाह गरेका दाहालले रातोपाटी डटकममा सम्पादकका रुपमा काम गरेका थिए।
उनी हाल नेपाल पत्रकार महासंघकाे महासचिव हुन।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा एमफील, पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर र त्रिविबाटै कानुनमा स्नातक दाहाल अध्ययन/अध्यापनमा पनि संलग्न छन।
स्वागत कार्याक्रममा नेपाल लाइभका अध्यक्ष अनिल न्यौपानेका साथै हेल्थ पब्लिकेशन प्रालिका अध्यक्ष तथा स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकाल लगायत नेपाल लाइभ र स्वास्थ्य खबरकर्मीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।