काठमाडौं– करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।
यस्तै, अन्य १५ जना उपभोक्ताले एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरेको हो।
उपभोक्तामा बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि यो योजना लागू गरेको हो। यसअनुसार हरेक १५ दिनमा १५ जनालाई १/१ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिनेछ।
यसका लागि prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याइएको छ। नगद भुक्तानी गरी नेपालभित्र एकपटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले वेबसाइटमा बिल अपलोड गर्न सक्नेछन्।
क्यूआरमार्फत गरिएको १०० रुपैयाँभन्दा बढीको कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले बिल इन्ट्री गर्नुपर्दैन। त्यस्ता उपभोक्ताले आफ्नो भुक्तानीको ट्रान्स्याक्सन नम्बर सुरक्षित राखे पुग्ने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको यो कार्यक्रमको कार्यविधि गत असार अन्तिम साता स्वीकृत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।