काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन भनिने मिलन गुरुङलाई सफाइ दिएको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन अस्वीकार गरेको हो।
सरकारले विशेष अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। आठ वर्षपछि सर्वोच्चले विशेष अदालतकै निर्णयलाई सदर गर्दै गुरुङलाई सफाइ दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा अवैध गतिविधिबाट सम्पत्ति आर्जन, धम्की दिएर रकम असुली तथा उक्त सम्पत्तिलाई वैधानिक देखाउन विभिन्न क्षेत्रमा लगानी गरिएको आरोप लगाइएको थियो।
अभियोगपत्रमा गुरुङले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। उनका नाममा काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित करिब ७ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख थियो।
यसै मुद्दामा अभियुक्त बनाइएका दीपक मनाङे (राजीव गुरुङ) ले भने सरकार समयमै सर्वोच्च नजाँदा २०७४ माघ १० गते नै सफाइ पाएका थिए। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीसम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।