काठमाडौं- २० हजार इन्जिनियरको एकै पटक दुर्घटना बीमा हुने भएको छ। जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले इन्जिनियरको एकसाथ बिमा गर्न लागिएको नेपाल इन्जिनियर्स एसोसिएसनले जानकारी दिएको छ। ५७औँ इन्जिनियर दिवसका अवसरमा प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले इन्जिनियरको दुर्घटना बीमा गर्न लागिएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इन्जिनियरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिए। बिमांक बापतको पहिलो किस्ता रकम भने एसोसिएसन आफैँले उपलब्ध गराउने भएको छ। त्यसमा ५० लाख रुपैयाँ उपलब्ध गराएर बिमा सुरु गरिनेछ।
पहिलो चरणमा सुरु गरिएको बिमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने, 'जुन स्थानमा हाम्रा इन्जिनियरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ।' प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो।
नेपाल इन्जिनियरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इन्जिनियर छन् भने एसोसिएसनमा आबद्ध भएका इन्जिनियरको संख्या २७ हजार छ। एसोसिएसनमा आबद्ध नभएका इन्जिनियरलाई पनि संगठित गर्ने प्रयासमा लागिएको महासचिव पोखरेलको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।