काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यवसाय विस्तारमा पनि जिम्मेवार र प्रतिबद्ध रहेको भन्दै अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सले बिहीबार चेम्बर सचिवालयमा आयोजना गरेको वाणिज्यसम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा महानिर्देशक गौचनले सरकारी निकायबाट हुने अनुगमनबाट व्यवसायीहरु तर्सिन नहुने धारणा राखेका हुन्।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार 'लेबल' लगाइएका वस्तुमात्रै बिक्री वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। यसमा सबै उद्यमी व्यवसायी सजग हुन जरुरी छ। 'बजार अनुगमन निरन्तर प्रक्रिया हो र गल्ती नगर्दा यसबाट डराउनुपर्ने कुनै कारण नै छैन,’ गौचनले भने।
व्यवसायीहरुले खरीद–बिक्रीलगायतका बिल बिजक जारी गरेर मात्र व्यवसाय गर्नसमेत उनले सजक गराए।
आर्थिक वर्ष २०७६/७७ को आर्थिक विधेयकमार्फत विभिन्न वस्तुमा भन्सार महसुल बढाएको विषयमा पनि गौचनले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार नै मुलुकको बाध्यताले अधिकतम भन्सारदर लगाइएको बताए।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने उपभोक्ता संरक्षण ऐनमा नै संशोधन गरिनुपर्ने धारणा राखेका छन्। ‘ऐनमा भएको दण्ड सजायको प्रावधानमा पनि पुनर्विचार गरिनुपर्छ। आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्छ तर थुन छेक गर्न हुँदैन,’ उनले भने।
विभागले अनुगमन गर्दा व्यवायीमा त्रासको वातावरण उत्पन्न हुने गरेको भन्दै अध्यक्ष श्रेष्ठले सहज वातावरणमा अनुगमन गर्नेतर्फ विभागले ध्यान दिन नसकेको गुनासो समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।