फोक्सुन्डोको सामुन्ने पर्यटक। तस्बिर-नेपाल पर्यटन बोर्ड.
काठमाडौं- सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शुल्कमा वृद्धि गरेको छ। सरकारले बैसाखमै भिसा शुल्क वृद्धि गरे पनि सोको कार्यान्वयन भने साउन १ अर्थात् बुधबारदेखि लागू हुनेछ।
सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको हो।
गत बैसाख २६ गते सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भिसा शुल्क बढेको जानकारी गराएका थिए।
मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो। अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ।
सरकारले अध्यागमन नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाएको हो।
सरकारले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको हो। यसअघि यो शुल्क २५ डलर थियो। यसैगरी ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १२५ डलर पुर्याउने निर्णय भएको थियो। यसअघि ३० दिनको लागि ४० र ९० दिनका लाथि १ सय डलर कायम थियो।
योसँगै सरकारले म्याद थपमा प्रतिदिनको ३ डलर पुर्याएको छ। यसअघि म्याद थपमा प्रतिदिनको २ डलर मात्रै थियो। साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने गरी नियमावली परिवर्तन भएको छ। म्याद गुज्रिएपछि भिसा थप गर्दा बेग्लै जरिवाना तिर्नुपर्छ। पर्यटकले बहुप्रवेशी भिसा थप्दा अब २५ अमेरिकी डलर तिर्नुपर्नेछ। यसअघि सोही प्रयोजनमा २० डलर मात्र तिर्नुपर्थ्यो।
तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका राहदानी बाहकलाई ३० दिनसम्मको अवधिका लागि भिसा दस्तुर लाग्ने छैन।
शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ। यसअघि उनीहरूले २० डलर तिर्नुपर्थ्यो। शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्याएको छ। यसअघि उनीहरूले ५० डलर तिर्दै आएका थिए।
यसैगरी, अध्ययन तथा अनुसन्धान गर्न आउने अन्य विदेशी र आश्रित परिवारका लागि १० डलर भिसा शुल्क बढाएर ५० डलर पुर्याइएको छ। उनीहरूले यसअघि प्रतिमहिना ४० डलर तिर्दै आएका थिए।
गैरपर्यटकीय भिसाअन्तर्गत पत्रकार र आश्रित परिवारको भिसा शुल्क ५ डलर बढाएर १५ डलर पुर्याइएको छ। यसअघि उनीहरूले प्रतिमहिना १० डलर तिर्नुपर्थ्यो। दातृराष्ट्रको लगानीमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत विदेशी र आश्रित परिवारले प्रतिमहिना ५० डलर तिर्नुपर्ने हुन्छ। गृह मन्त्रालयले उनीहरूको भिसा शुल्कमा २० अमेरिकी डलर बढाएको हो।
व्यावसायिक भिसाअन्तर्गत एक करोड रुपयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले वार्षिक बहुप्रवेशी भिसाका लागि २ सय अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्ने भएको छ। एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसावापत २० डलर तिर्नुपर्नेछ।
यसैगरी, पदयात्रा दस्तुर सम्बन्धमा पनि माथिल्लो मुस्ताङ र माथिलो डोल्पा पदयात्रा गर्न पर्यटकसँग पहिलो १० दिनको लागि ५ सय डलर र त्यसपछि भने प्रतिदिन ५० डलर थप हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।