शिल्पालाई छवि ओझाको आग्रह : आफ्ना कमजोरी सच्याएर गान्धीवादी बन्न तयार छु, घर आउनुस्

नेपाल लाइभ | २०७६ असार ३१ मंगलबार | Tuesday, July 16, 2019 ०७:००:०० मा प्रकाशित

काठमाडौं- श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलसँग भएको विवादका सम्बन्धमा निर्माता छवि ओझाले आफ्ना कमजोरी सच्याएर गान्धीवादी बन्न तयार रहेको बताएका छन्।

मंगलबार बिहान फेसबुक स्टाटस लेख्दै निर्माता ओझाले अरुको कुरा नसुन्न आग्रह गर्दै आफ्नो घरको ढोका सधैंको लागि खुल्ला रहेको स्पष्ट पारेका छन्। निर्माता ओझाले छातीमा हात राखेर आफूमाथि लगाइएका कति आरोपहरु सत्य छन् समिक्षा गर्न आग्रह गर्दै भनेका छन्, 'यदि तपाईं पनि आफूलाइ सच्याएर अझै मेरो श्रीमती, तपाईंले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमीकमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु। अरुको कुरा नसुन्नुस, आउनुस् हाम्रो घरको ढोका सधैं तपाईंको लागि खुल्ला छ।'

उनले आफूसँग बस्न नै उचित नलागेको भए पनि टेबुलटक गर्न आग्रह गरेका छन्। उनले आफूले कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गर्दै आफ्नो इतिहास पल्टाएर हेर्न चुनौती दिएका छन्।

आफूले पछिल्लो ३ दिनसम्म भेट्न कोशिष गर्दा पनि नपाएको उल्लेख गर्दै निर्माता ओझाले न्यायका लागि अन्य कुनै पनि अदालत जानु नपर्ने जिकिर गरेका छन्। 'आज सम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन। तपाईंलाइ पनि पार्दिन,' उनी लेख्छन्, 'मैले विगत ३ दिनदेखि तपाईंलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नुभयो। म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छबि ओझाको अदालतमा सिधै आउनुस्। तपाईंले न्याय पाउनुहुन्छ।'

अभिनेत्री पोखरेलले श्रीमान् ओझाबाट आफूलाई सुरक्षा चुनौती रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई सुरक्षाको माग गरेपछि उनीहरु बीचको विवाद सतहमा आएको हो। शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि गत बिहीबार दुवै जनालाई महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि बोलाएको थियो।

सो क्रममा ओझाले घटनालाई लिएर माफी मागेपछि तत्कालका लागि सहमति बनेको थियो। तर बाँकी जीवन उनीहरुले सँगसँगै बिताउछन् कि बिताउँदैनन् भन्ने टुंगो भने लागेको छैन।

यसैबीचमा शिल्पालाई घर फर्किन भन्दै ओझाले स्टाटस लेखेका हुन्।

यो पनिः

अभिनेत्री शिल्पाको घरेलु हिंसाको अनुभूति : फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई खाइरहने?

छवि र शिल्पाबीच तत्कालका लागि सहमति, डिभोर्सबारे टुंगो लागेन

शिल्पाका श्रीमान् छविले भनेः ममाथि जे आरोप लगाइयो, त्यो गलत छ

यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

छविले 'कानको जाली फुट्ने गरी' कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा

छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी