काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलका श्रीमान् छवि ओझाले आफूमाथि श्रीमती शिल्पाले लगाएको हिंसाको आरोप कपोल्कल्पित र झुठो बताएका छन्।
शिल्पा आफ्नै श्रीमान् ओझाबाट असुरक्षित रहेको भन्दै प्रहरीको शरणमा पुगेको खबर बाहिरिएसँगै निर्माता ओझाले भनेका छन्, ‘जे जसरी खबरहरु आइरहेका छन्, त्यसको वस्तुपरकता हेर्दा हुन्छ। मेरो कुनै गल्ती छैन।’
बुधबार साँझ नेपाल लाइभको सम्पर्कमा आएका निर्माता ओझालाई हामीले सोधेका थियौं, ‘तपाईंले आक्रमण गरेर शिल्पाजीको कानको जाली फुटेको भनिएको छ। भएको के हो?’
जवाफमा फिल्मकर्मी ओझाले आफूहरुबीच गएको असार ८ गते घरेलु मामिलामा सामान्य भनाभन भएको बताए। उनले भने, ‘घरपरिवारमा डिसकस भएको हो, त्यसपछि शिल्पाजी स्कुटी लिएर बाहिर जानु भयो। दाजु–भाउजुकोमा गएको थाहा पाएँ। तर एकाएक जे जसरी प्रहरीमा उजुरीको कुरा आयो, त्यसले मलाई आश्चर्यमा पारेको छ।’
‘दुई हप्ताअघि मैले पिटेर जाली फुटेको व्यक्ति यो बीचमा विभिन्न कार्यक्रममा उपस्थित हुन कसरी सक्छ? त्यसैले यो सरासर झुठा आरोप हो।’
आफूलाई अन्याय भएको भए शिल्पा एउटा कलाकारका नाताले पनि फिल्मसम्वद्ध संघसंस्थाहरुमा पुगेर उजुरी हाल्नुपर्ने तर्क निर्माता ओझाको छ। ‘प्रहरीको पुग्ने विषय नै थिएन तर यो बीचमा शिल्पाजीलाई कसले के भनेर उक्सायो, त्यो मलाई थाहा भएन’ उनले भने, ‘शिल्पाले उजुरी हालेपछि हिजो एकपटक आफू प्रहरीकोमा पुगेर छलफलका लागि प्रयास भएको हो। आज म विरामी भएँ।’
६ महिना अगाडि मात्रै बिहे दर्ता गरेको बताउने ओझाले शिल्पाका लागि आफूले फिल्मी करिअर र व्यावहारिक जीवनका पक्षमा पनि प्रेमपूर्वक सहयोग र व्यवहार गरेको बताए। ‘मैले उहाँका लागि सबै प्रकारका सहयोग र सम्बन्धको भूमिका निर्वाह गर्दागर्दै पनि जुन अवस्था आयो यो दुःखद छ’, उनले भने, ‘दुई हप्तादेखि उहाँ दाजु भाउजुकोमा हुनुहुन्छ। बाँकी कुरा मैले बुझेर मात्र भन्न सक्छु।’
निर्माता ओझाले १५ दिनअघिको सामान्य विवादलाई जसरी ‘प्लटिङ’ गरिएको छ त्यसले आफूमाथि कुनै षडयन्त्र भइरहेको भान मिलिरहेको दाबी गरेका छन्।
दुई हप्तादेखि फोटो पत्रकार विकास रौनियार उनकी फिल्म निर्देशक श्रीमती सम्झना रौनियारकोमा रहँदै आएकी अभिनेत्री शिल्पाले दुई दिन अघि मात्रै काठमाडौं प्रहरीकोमा पुगेर आफूलाई घरेलु हिंसा भएको उजुरी दर्ता गराएकी थिइन्।
यो पनि :
यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले
छविले 'कानको जाली फुट्ने गरी' कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा
छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।