कोक्सबजार (बङ्गलादेश)– म्यानमारबाट झन्डै ३ लाख रोहिंग्या मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बंगलादेशमा विस्थापित भएपछि रोहिंग्यामाथि ज्यादतिको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ।
यसै विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले बुधबार आकस्मिक बैठक बोलाएको छ। रोहिंग्या समुदायका नागरिकमाथि भएको हिंसाको विषयमाथि बैठकमा छलफल हुने बताइएको छ।
यसैबारे राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि सोमबार गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। आयोगका प्रमुख जियाद राद अल हुसेनले म्यानमारमा रोहिंग्यामाथिको ज्यादती नियोजित भएको बताएका छन्।
उनले कुनै विशेष जातिमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ म्यानमार सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले रोहिंग्याको अवस्थाको अध्ययनका लागि राष्ट्रसंघले प्रतिनिधि पठाउने बताएका छन्। हाल त्यसका लागि प्रयास गरिरहेको उनले जनाए।
राखिन राज्यमा रोहिंग्या समुदायमाथि सुरक्षाकर्मीबाटै भएको आक्रमणका कारण दशौँ हजार मानिस राखिन राज्यभित्र नै विस्थापित भएका छन्। विस्थापित भएकाहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारबिना नै बसेका छन्।
अहिलेसम्म यहाँबाट भागेर बंगलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तिमा ३ लाख पुगेको छ। उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकताको व्यवस्था नरहेको बताइन्छ।
उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ। सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग आग्रह गरेको जनाएको छ।
म्यानमारको स्टेट काउन्सिलर आङ साङ सू चीले रोहिंग्या समुदायका नागरिकमाथि सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउँदै आएकी छिन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।