नियोजित रुपले म्यान्मारका अल्पसंख्यक रोहिंग्या मुस्लिमहरुको जातीय नरसंहार हुँदैछ र यो नरसंहारले अन्ततः मूलधारका मिडियामा ठाउँ पाउन थालेका छन्। यद्यपि आङ सान सू चीले यो नरसंहारलाई चतुर्याइँ र कुशलतापूर्वक समाधान गर्न खेजेकी छिन् । तर, मूलधारका मिडियाले 'त्यहाँ एउटै पनि गाउँ बाँकी छैन', 'अब मान्छेहरु रित्तिए' जस्ता शीर्षकमा समाचार छापिरहेका छन्।
मुस्लिम समुदायप्रति चरम घृणा र असहिष्णु देखिएको अमेरिकी र युरोपेली मिडिया अहिले यहुदी समुदाय विरुद्ध पनि आक्रामक देखिएका छन् । उनीहरुले निकै कम मात्रामा म्यान्मारमा त्यहाँको सेना र बौद्ध राष्ट्रवादी भिजलान्ते समूहले मुस्लिमप्रति गरिरहेको दमन र हिंसालाई समाचार बनाएकाा छन्।
एकछिन कल्पना गरौं, यहुदी, इसाई वा शान्तिप्रिय बौद्ध धर्मावलम्बीमाथि इस्लामिक धर्मावलम्बीले गरेको अत्याचार । एकपटक तुलना गरिहेरौं, हत्यारा आइएसआइएल (इस्लामिक स्टेट अफ इराक एन्ड लेवेन्ट) को अत्याचारको समाचारलाई मिडियाले दिएको महत्व र म्यान्मारका हत्यारा बौद्धहरुको अत्याचारमाथि प्रसारण गरिएका दुर्लभ समाचारहरु।
कहीँ न कहीँ कथित उदारवादी संरचनाका अमेरिकी र युरोपेली मिडिया खतरनाकरुपले निर्दयी र कठोर देखिन्छन् । यी मिडियाहरुले मुसलमानलाई मान्छेको रुपमै हेर्दैनन्।
अल जजिरा आफ्नो रिपोर्टमा लेख्छ- करिब २० हजार रोहिंग्या मुसलमान म्यानमारबाट भागेर बंगलादेश पलायन भएका छन्, अन्तर्राष्ट्रिय जगतकाे सुरक्षा चासो र चिन्ताका बाबजुद शरणार्थी प्रवाह निरन्तर बढ्दै गएको छ।
राखिन प्रान्तमा सयभन्दा बढी रोहिंग्या मुस्लिमहरुको हत्या भनेर छापिएकाे समाचारलाई अन्य मिडियाले पनि पुष्टि गरेका छन्।
पश्चिमाहरुको मानवअधिकारको प्रतीक, सबै युरोपेली र अमेरिकी नेताहरुको प्रिय सू ची निहत्था र निर्दोष जनताको हत्या भइरहँदा यतिबेला चुपचाप छिन् । पुष्टि भइसकेको यो नरसंहारलाई उनी प्रोपगाण्डा भनेर टार्दै छिन्।
'कुनै किसिमको जातीय नरसंहार भइरहेको छ भन्ने मलाई लाग्दैन', गत अप्रिलमा बिबिसीको अन्तर्वार्तामा सू ची ले भनेकी थिइन् 'जे भइरहेको छ, त्यसलाई जातीय नरसंहार भन्नु अत्युक्ति हुनेछ।'
त्यसो भए म्यानमारमा अहिले जे भइरहेको छ, त्यसलाई के मान्ने ? हत्या र बर्बरताकाे याे शृंखलालाई कुन शब्दावली प्रयोग गर्दा महामहिम खुसी हुन्छिन् त?
'तपाईंले भने जस्तो नरसंहार होइन यो । यो त केवल विभाजनको रेखामा विभक्त समूहका मान्छेहरुको मुद्दा हो र यसलाई हामी सल्टाउन खोजिरहेका छौं', उनले अन्तर्वार्तामा भनेकी थिइन्।
के यो ट्रम्पले गर्दै आए जस्तो रमिता म्यान्मारमा चलिरहेको हो ? कि याे सू कीको राजनीतिक विरोधाभास हो?
भन्न गाह्रो छ । तर, तत्काललाई यो प्रश्न भने पक्कै उठेके छ, शक्तिको भोको र सत्तालोलुप सू की नोबेल शान्ति पुरस्कार लायक छिन् त?
सन् २०१३ मा बिबिसीका एक पत्रकारले म्यान्मारमा मुस्लिमहरुको हत्या हुँदा दोहोरो चरित्र किन देखाउनुभएको भन्ने प्रश्न गरेका थिए । त्यतिबेला उनले तल्लाे स्तरकाे टिप्पणी गरेकी थिइन्- 'मलाई कसैले बताएनन् कि एक मुस्लिमले मेरो अन्तर्वार्ता लिँदैछन्।'




उनको यो उग्र घृणाले भरिएको नस्लीय सोचले म्यान्मारमा भइरहेको जातीय नरसंहारलाई प्रोत्साहन गरिरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । सू चीकै कारण नर्वेली नोबेल कमिटीले भविष्यमा कसैलाई नोबेल शान्ति पुरस्कारले विभूषित गर्नुभन्दा पहिले आफ्नो नैतिक धरातल खोज्नैपर्ने देखिन्छ।
नोबेल शान्ति पुरस्कारहरु
नोबेल पुरस्कारले सारा संसारमा केही न केही महत्त्व र मान्यता स्थापित गरेकाे देखिन्छ । यथार्थमा यो पुरस्कार संसारमा स्वीडिस (नर्वेली वा स्केन्डिवयन–यूरोपेली वा समग्रमा पश्चिमा मुलुक) ले लादेको सर्वस्वीकृत मानक हो । हामी नोबेल कमिटीका निर्णयलाई मानौं या नमानौं, तर नोबेल कमिटीको विज्ञान, साहित्य र शान्तिका क्षेत्रमा गरिने निर्णय र छनौट संसारभरि मानककाे रुपमा स्थापित छ । उनीहरु (नोबेल कमिटी) सारा संसारका लागि निर्णय गर्छन् र हामीसँग त्यस निर्णय वा छनोटलाई स्विकार्नु बाहेक अन्य विकल्प रहँदैन।
नोबेल पुरस्कार छनोट विवेककै आधारमा गरिएका होलान् । तर, यस्तो पनि निर्णय भएकाे छ,जसले सबैलाई सेच्न बाध्य बनाएकाे छ । जस्तो कि बाराक ओबामा । यस मामिलामा पछि नोबेल कमिटीको विवेकमाथि प्रश्न उठेको थिये । केही यस्ता छनोट छन्, जो हामीलाई सोच्न बाध्य बनाउँछ र लज्जित पनि पार्छ।
सन् १९१८ मा रसायनशास्त्रको नोबेल पुरस्कार विषालु ग्यास भट्टीका मालिक फ्रिज ह्याबरलाई दिइनु, लोबोटोमी (मानसिक रोगीको कथित उपचारमा दिमागको अग्रभाग छेदन गर्ने चिकित्सकीय पद्धति) पद्धति ल्याएका कारण अन्तोनियो इगास मोनिजलाई सन् १९१८ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कार दिइनु, युद्ध अपराधी हेनरी किसिंगरलाई सन् १९७३ को नोबेल शान्ति पुरस्कार दिइनु वा हालसालै युरोपियन युनियनलाई नोबेल शान्ति पुरस्कार दिइनु केही उदाहरण हुन्।
केही असाधारण कारणले बर्मेली राजनीतिज्ञ सू चीले पुरस्कार पक्कै पाएकी हुन् । तर, हालसालै अर्थात् जबदेखि उनी मुस्लिम जनताको जातीय नरसंहार गर्ने राज्य संयन्त्रकी मुखिया बनेकी छिन्, उनलाई दिइएको नोबेल पुरस्कारलाई तत्काल पुनरावलोकन गर्नैपर्ने देखिन्छ।
मुस्लिमहरुको आम नरसंहार भएको जान्दाजान्दै, पीडित मुस्लिम समुदायको अवस्थाप्रति नजरअन्दाज गर्नु, निर्दयी हुनु र अझै भन्ने हो भने नरसंहारमा संलग्न हत्याराहरुसँग सत्ताका लागि मिल्नुले उनले पहिले जे-जस्तो कारणले नोबेल पुरस्कार पाए पनि अहिले उनी नोबेल पुरस्कारको हकदार हुनै सक्दिनन्।
हो, यहीँनेर संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, युरोपियन युनियन, अन्तर्राष्ट्रिय अपराध न्यायलय, एम्नेष्टी इन्टरनेसनल र अन्य मानव अधिकारसँग सम्बन्धित संस्थाहरुले शान्तिका लागि दिइने पुरस्कारको मुख्य अवधारणा शान्तिकै घोर उल्लंघन गरेका कारण सू चीलाई विभूषित गरिएको नोबेल पुरस्कार खारेज गर्न नर्वेली नोबेल कमिटीलाई दबाब दिनैपर्छ।
पाप मोचन
समग्रमा सारा विश्वजगत् यो उत्कृष्ट पुरस्कारबाट पुरस्कृत व्यक्तिलाई सधैंका लागि सम्मान दिइराख्न बाध्य छैनन् । अर्थात् एकचोटि पुरस्कार पाएको व्यक्तिलाई यो संसारका मान्छे पुरस्कारका लागि योग्य छन् वा छैनन् भनेर सदैव मूल्यांकन गरिराख्छन्।
नोबेल पुरस्कार गलत मान्छेलाई दिएको पछुतो भविष्यका लागि एक दृष्टान्त र तार्किक सिकाइको पाठ बन्नुपर्छ । उदाहरणका लागि नोबेल कमिटीका सचिवले ओबामालाई नोबेल पुरस्कार दिएकोमा पछुतो मानेको बारेमा हामी अनभिज्ञ छैनौं । नोबेल कमिटीका सचिव गेर लेन्दुसतेदले भनेका थिए, सन् २००९ मा ओबामालाई नोबेल पुरस्कार दिएर नोबेल कमिटीले आशा गरेअनुरुप ओबामाले पुरस्कारलाई न्याय दिन नसक्दा नोबेल कमिटी असफल भएको छ।
शान्ति स्थापनार्थ वा प्राप्तिका लागि विशेष योगदान गरेवापत सम्मान र कृतज्ञता व्यक्त गर्नु नै नोबेल शान्ति पुरस्कारको मुख्य उद्देश्य हो । नोबेल पुरस्कार कमिटीले पुरस्कृत व्यक्ति वा संस्था जुन कारणले पुरस्कृत भएको छ, त्यो छवि बनाउन सके-नसकेको निगरानी गर्नैपर्छ । आचरण र व्यवहारमा कुनै किसिमको परिवर्तन आउँदा त्यसको कारण पनि खोतल्नैपर्छ । अन्यथा यो पुरस्कार एकदिन पाखण्डभन्दा बढी केही हुनेछैन।
यो प्रस्तावको मनसाय आङ सान सू ची वा उनीभन्दा पहिले पुरस्कृत हुने व्यक्ति वा संस्थालाई बेइज्जत गरेर पुरस्कार खोस भनेको होइन । तर, यतिचाहिँ पक्कै हो, पुरस्कार दिइने व्यक्तिको मूल्यांकन यसरी गरियोस् कि पुरस्कृत हुने व्यक्ति पुरस्कार पाएको कारण बढीभन्दा बढी संलग्न र जिम्मेवार बनाेस्।
आज नोबेल पुरस्कार पाउने सूचीमा आङ सान सु ची सम्भवतः सबैभन्दा कलंकित नाम हो। संसारभरबाट सू ची को निन्दा हुनु जरुरी छ । तर, निन्दाले मात्रै पुग्दैन । नोबेल कमिटीले आफ्नो र भविष्यमा पुरस्कृत हुने व्यक्ति वा संस्थाको विश्वसनीयताका लागि नरसंहारमा उग्ररुपले संलग्न व्यक्तिको पुरस्कार सार्वजनिकरुपमै खेसिनुपर्छ।
नोबेल पुरस्कार खारेज गर्ने कुरा जतिसुकै राम्रो भए पनि असान्दर्भिक वा अति राजनीतिक र नकारात्मक वा शून्यवादी हुन आउँछ । हामीसँग एक मात्र संसार छ, जहाँ हामी बस्छौं । हाम्रो चुनौती भनेको संसारमा रहेका खराबीहरुलाई निमिट्यान्न गर्नु हो । त्यसैले नोबेल पुरस्कारको मुख्य काम भनेको संसारलाई कसरी शान्तितर्फ उन्मुख गराउन सकिन्छ र हिंसालाई निस्तेज गराउन सकिन्छ भन्ने नै हो।
अलजजिराबाट साभार
अनुवादः दिनेश पन्त
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।