काठमाडौं- नेपाल वायुसेवा निगमको ६१औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निगम व्यवस्थापनकै कारण राष्ट्रिय ध्वजाबाहक वायुसेवा प्रदायक संस्था बिरामी परेको बताए।
‘जहाजका कारण निगम बिग्रिएको होइन, व्यवस्थापनका कारण निगमको बदनाम भएको हो,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले निगमलाई सहयोग मात्रै हैन काँध नै थाप्न तयार छ। तर, आवश्यक परेको अवस्थामा हस्तक्षेप पनि हुन्छ।’
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले निगमलाई तत्कालको अवस्थामा एक रुपैयाँ पनि दिन नसक्ने बताए। तर, निगम कार्यकारी अध्यक्ष खरेलले भने सरकारले निगमको विकासका लागि २० अर्ब रुपैयाँ पुँजी विस्तारमा सहयोग गर्नुपर्ने बताइरहेका थिए।
प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारे। तत्काल नेपाल वायुसेवा निगमको समग्र काम कारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने समेत प्रधानमन्त्री ओलीले बताए।
.jpg)
‘निगमको व्यवस्थापन र सञ्चालनमा तत्काल सुधार आउनुपर्यो, नभए त्यसको सञ्चालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायुसेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन?’
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउन गन्तव्यको खोजी गर्न नसकेकोमा पनि टिप्पणी गरे। उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे। ’सरकार सहयोग मात्र हैन, काँध थाप्न पनि तयार छ। तर, आँखा चिम्लेर बिना ग्यारेन्टी रकम दिन मिल्दैन। त्यसमा पनि अहिलेको अवस्थामा रकम दिन मिल्दैन। व्यवस्थापन ठिक हुनुपर्छ।’
सम्बोधन अवधिभर निगम व्यवस्थापनमाथि आक्रोश पोखेका प्रधानमन्त्रीले निगमको यस्तो अवस्था नसुध्रिए निगम सफल हुन नसक्ने ठोकुवा गरे। ’यस्तो अवस्थामा नेपाल वायुसेवा निगम कसरी सफल हुन्छ? सफल हुन सजिलो छैन। अहिलेसम्म भएको प्रगति र उन्नति के छ? कसरी ३७/३८ अर्ब ऋण भयो। यो दान दिने संस्था त हैन। निगम व्यापारिक संस्था हो। किन सिकिस्त बिरामी छ? निगम निःशुल्क स्वास्थ शिबिर गर्ने संस्था त हैन,’ निगम व्यवस्थापनप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, ’आफैंले आम्दानी गर्नुपर्छ। विमान उडाउन नसक्ने भए किन खरिद गरेको?’
भिडियोमा हेर्नुहोस् नेवानिप्रति प्रधानमन्त्री ओलीको आक्रोश
वाइडबडी विमानको जापान उडानबारे चासो राख्दै प्रधानमन्त्री ओलीले भने, ’वाइडबडीको गन्तव्य खोई? विमान ल्यानुभन्दा पहिले नै योजना तय हुनुपर्छ। किन जापानको ओसाका उडाउन खोजेको? ओसाका हैन नारिता किन नउडान खोजेको? नारिता उडानमा निगमले छिटो तयारी गर्नुपर्छ।’
आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ। उनले भने, ’विमान नउडाउने भए किन ल्याको? फेरि किन विमान थप्ने कुरा हुन्छ? भएका विमान पनि उड्दैनन्। फेरि विमान लडाएर राख्न ल्याउने हो?’
उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए। प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पारे। उनले विमानका कारण निगमले घाटा बेहोरेको नभई व्यवस्थापनका कारण यस्तो भएको जिकिर गरे।

‘अहिले जति रकम मागिएको छ, त्यति नै फेरि अर्का वर्ष पनि दिनुपर्छ। खासमा यस्तो हुनुमा विमानले नोक्सान गरेको हैन। हाम्रा कारण नोक्सान भएको छ,’ ओलीको प्रश्न छ, ’साग बेच्नेले तिरेको करले विमान खरिदको ऋण तिर्ने काम कहिलेसम्म हुन्छ?’ प्रधानमन्त्री ओलीको यो भनाइसँगै सरकारले निगमको नेतृत्वमाथि नै शंका गरेको स्पष्ट हुन्छ।
उनै प्रधानमन्त्री ओलीले करिब १० महिना अगाडि गत साउन २७ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल वायुसेवा निगमकै पूर्व कर्मचारी मदन खरेललाई निगम सञ्चालन बोर्ड सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको थियो। खरेललाई सञ्चालक समितिमा नियुक्ति गरेको ३ दिनपछि बसेको मन्त्रिपरिषद्को बैठकले फेरि खेरललाई निगमैको कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो।
खरेलको नियुक्ति अगाडिसम्म निगमको महाप्रबन्धक सुगतरत्न कंसाकार थिए। कंसारकारले गर्दै आएका कामको अधिकारी पनि खरेलनै गर्ने गरी अधिकार प्रत्योजन गरिएको थियो।
खरेलको नियुक्तिमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी पनि सन्तुष्ट थिएनन्। तर, प्रधानमन्त्री ओलीले ठाडो प्रस्तावमा निगमको कार्यकारी अध्यक्षमा खरेललाई नियुक्ति गरिएको थिए।
खरेल नियुक्तिको निर्णय भएको भोलिपल्टै मन्त्रालयले प्रक्रिया पूरा गर्न नियुक्ति प्रस्तावको फाइल मन्त्रिपरिषदमा पेस गरेको थियो। यसरी निगम कार्यकारी अध्यक्ष पदमा आएका खरेलले अहिले १० महिनाको अवधि पूरा गरिसकेका छन्। १० महिनाको अवधिमा खरेलले झन्डै २३ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको दुई वटा वाडबडी पनि फुल फेजमा सञ्चालन गर्न सकेका छैनन्। आन्तरिक तर्फका ४ वटा वाई–१२, दुई वटा एमए ६० र ट्विनअटर जहाज पनि पूर्ण रुपमा सञ्चालन भएका छैनन।
यी सबै अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले निगमलाई जहाजभन्दा पनि निगम कार्याकारी अध्यक्ष खरेल र उनको व्यवस्थापन टिम नै बोझ भएको बुझ्न असहज छैन।
अब कुरा गरौं खरेल निगमलाई कसरी बोझ हुँदैछन्?
यो विषयको चर्चा गर्दैगर्दा सबैभन्दा पहिला प्रधानमन्त्री ओली समक्ष कार्यकारी अध्यक्षको नियुक्ति लिँदा खरेलले गरेका १२ बुँदै प्रतिबद्धता हेरौं।
१. निगमसँग रहेका जहाज को व्यवसायlक कार्यान्वयनसहित नियमित उडानको व्यवस्था मिलाउने
२.आवश्यकता अनुसार जहाज खरिद कार्यलाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने गराउने
३. विमान खरिद गर्दाको ऋण तोकिएको समयमा भुक्तानी गर्ने
४. निगमको सेवालाई विश्वसनीय, नियमित, र जहाजको सिट उपयोगिता बढाउने योजना तथा सूचक निर्माण गरी लागु गराउने
५. निगमका सबै उडानलाई नाफामूलक गन्तव्यमा केन्द्रित गर्न बजारको अध्ययन विस्तार तथा त्यसको व्यवस्थापनसम्बन्धि रणनीति तय गरी लागु गर्ने गराउने
६. निगमको अन्तरिक उडानमा रहेको जहाज मर्मतसंभार गर्ने गराउने
७.निगमसँग रहेको चिनियाँ विमानको लागि आवश्यक पर्ने जनशक्ति तयार गरी नियमित उडानको व्यवस्था मिलाउने
८.विमानका लागि आवश्यक पर्ने जनशक्ति विकास गरी व्यवस्थापकीय क्षमता वृद्धि गराउने
९. ग्राउन्ड ह्यान्डलिङ सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने
१०.निगमको लेखा परीक्षण अद्यावधिक गराउने
११.निगमलाई सार्वजनिक निजी साझेदारीमा लैजाने कार्य प्रक्रियालाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने
१२. नेपाल सरकार संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समयसमय मा दिएको नीतिगत निर्देशनलाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने गराउने
१२ बुँदे प्रतिबद्धामा कुन काम के भए?
निगमसँग रहेको जहाज उडान प्रतिबद्धता गरेका खरेलले पछिल्लो १ सय ८० दिनमा वाई-१२ जहाज ४० दिनमात्रै उडान सकेका छन। एमए ६० एउटा र टिवनअटर २ वटा पनि खरेल आएदेखि ग्राउन्डेट छ। यसैगरी अक्टोबरमा मलेसिया मर्मतका लागि पठाएको बोइङ-७५७ जनवरीमा काठमाडौं आइपुगे पनि केही दिन मात्रै जहाज नै नउडाई लिलामीको लागि सूचना प्रकाशन गरेका छन्। आन्तरिक उडानलाई प्रभावकारी बनाउन खरिद गरिने भनिएको ८ वटा जहाज खरिद प्रक्रियाको कुनै निर्णय गर्न सकेका छैन।

विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज पनि समयमा बुझाउन सकेका छैन। ऋणको किस्ता र ब्याज मात्रै ४ अर्ब पुग्न लागि सकेको छ।
नाफामूलक गन्तव्यको पहिचान गरी लामो दुरीका गन्तव्यमा उडान गर्दा निगम नाफामा जाने थियो। तर निगमले नयाँ गन्तव्य उडान गर्ने तयारी गरेपनि त्यसमा सफल भएको छैन। पुराना गन्तव्यमा पनि विभिन्न समस्या आउने गरेका छन्।
आन्तरिक व्यवस्थापनकै कमजोरीका कारण जापानको नारिता छोडेर घाटा हुने निश्चित गन्तव्य ओसाका उडानको तयारी गरेको छन्। आन्तरिक उडानमा प्रयोग हुने तर लामो समयदेखि बिग्रिएर बसको एमए-६०, वाई–१२ र २ वटा ट्विनअटर पनि मर्मत भएका छैनन्। चिनियाँ जहाज उडानका लागि आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिबद्धता गरेपनि वाई–१२ जहाज उडान गर्ने पाइलट र एमए-६० उडान गरिरहेको पाइलट पनि ए-३२० र ए-३३० को तालिममा पठाउँदै जहाज ग्राउन्डेड भएका छन्। तर, अहिले खरलेले जहाज उडानका लागि भन्दै ६२ वर्षका केबी लिम्बू र ६४ वर्षका फिजियोनाथ नेपालीलाई वाई–१२ जहाज उडानको लागि पाइलट तालिम गराइरहेका छन्।
यसैगरी खरेलले सुगतरत्न कंसाकारकै पालामा पाएको ग्राउन्ड ह्यान्डलिङको प्रमाणपत्रलाई मात्रै प्रचार गरी थप केही काम गर्न सकेका छैनन्।
कार्यकारी अध्यक्ष भएर आएलगत्तै खरेलले सुगतरत्न कंसाकारको पालमा भएको ए-३२० जहाजको इन्जिन तथा पार्टपुर्जा मर्मतको टेन्डर अन्तिम चरण रद्द गरी पुनः टेन्डर गरेर दुई पार्टमा टेन्डर गर्ने निर्णय गरे। त्यस पहिलो एउटा पार्ट इन्जिन मर्मतको टेन्डर गरेपनि सार्वजनिक लेखा समितिले उक्त टेन्डर रद्द गर्ने निर्देशन दिइसकेको छ।
यसैगरी ए-३३० को पनि जहाज मर्मत सम्बन्धी टेन्डरमा आर्थिक हिनामिना भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले नै टेन्डर तत्काल स्थगित गर्ने निर्देशन दिएको छ। उक्त काम अहिले अगाडि बढ्न सकेको छैन। यसैगरी आफू निकटका कर्मचारी युवराज अधिकारीलाई अर्थ विभाग, अपरेशन विभागमा रवीन्द्र शेरचनलाई ल्याएका थिए। खरेलले १० महिना भइसक्दा पनि नयाँ गन्तव्य विस्तारमा कुनै काम गर्न सकेका छैन।
खरेलले कार्यकारी अध्यक्ष भएदेखि साउदी अरब, कोरिया, जापान तथा चीन उडान गर्ने बताउँदै आए। तर, अहिलेसम्म कुनै पनि गन्तव्यमा उडान हुन सकेको छैन।
केही दिन अगाडि मात्र जापानको ओसाका उडान गर्ने तय भएको तालिका पनि २६ दिन पछिलाई सार्दै फेरि भदौ१२ गतेबाट उडान गर्ने तालिका सार्वजनिक भएको छ। उडान तालिका रातको २ बजे छ। तर, भदौ १५ गतेबाट फेरि विमानस्थलको ट्याक्सी-वेको पीच परिर्वतनका लागि विमानस्थल राती बन्द हुँदैछ। यो समयमा पनि उडान नहुने आँकलन गर्न थालिएको छ। उता चीनको गोन्जाओ तथा साउदी अरब र कोरिया उडानको कुनै तयारी भएको छैन।
निगमले जहाज उडाएर ऋणको किस्ता तिर्ने नसकेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ मागरिहेको खरेलले निगमको सुधार भन्दा पनि हवाई माफियाको खेलमा काम गरिरहेका छन्।
यो पनि पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।