काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य गर्न सकिने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको दृष्टिकोणमै भिन्नता रहेको दाबी गरे। आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको तर एमाले सुशासनको पक्षमा नदेखिएको उनको आरोप थियो।
प्रचण्डले माओवादीको अस्तित्व र राजनीतिक पहिचानबारे भ्रम फैलाउन खोजिएको भन्दै त्यसको खण्डनसमेत गरे। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विभिन्न घटकका विचार र भावना नयाँ पार्टीमा समाहित भएको बताए।
उनका अनुसार शान्ति प्रक्रियापछि पार्टीका नाम र संगठनात्मक स्वरूप परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा तथा जनपक्षीय एजेन्डा यथावत् छन्।
एमालेसँगको सम्बन्धबारे थप प्रस्ट पार्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गरिरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको आरोप लगाए। लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार चलाउनु संसदीय अभ्यासको मर्मविपरीत भएको उनको टिप्पणी थियो।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध संघर्षरत रहेको दाबी गर्दै तत्कालीन सत्तापक्षले भ्रष्टाचारलाई संरक्षण गरेको आरोपसमेत लगाए।
यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकारको रक्षाका लागि आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिसँग संवाद र सहकार्य गर्न सकिने प्रचण्डको भनाइ थियो। राष्ट्रिय मुद्दामा हुने सहकार्यलाई पार्टी एकतासँग जोडेर हेर्न नहुने उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।