काठमाडौं- सीपयुक्त कामदारलाई मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति जारी गर्ने निर्णयबाट सरकार पछि हटेको छ।
सरकारले यही असार १५ गतेदेखि लागू हुने गरी प्राविधिक तथा व्यवसासिक तालिम लिएको प्रमाणपत्र भएका नागरिकलाई मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति जारी गर्ने नीति लिएको थियो। तर आवश्यक तयारी नपुगेको भन्दै यो योजना तत्कालका लागि स्थगित गरिएको जानकारी दिइएको छ।
मंगलबार वैदेशिक रोजगार विभागले सो नीति कार्यान्वयनका लागि केही प्राविधिक काम पूरा गर्न बाँकी रहेको सूचना जारी गर्दै तत्कालका लागि स्थगित गरेको जानकारी गराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृत गरेको रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधिभित्र रहेर विभागले गत वैशाख २४ गते एक सूचना प्रकाशित गरेको थियो।
सो सूचनामा यही असार १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा सिप सिकेर प्रमाणपत्र लिनुपर्ने उल्लेख थियो।
सरकारले अघि सारेको यो नीतिले खाडीलगायत मुलुकमा जोखिमपूर्ण काम गर्न जाने अदक्ष नेपाली श्रमिकको संख्यामा कमी आउने अपेक्षा गरिएको थियो।
मंगलबार जारी गरेको सूचनाले नीति बनाउने तर कार्यान्वयन गर्न नसक्ने सरकारको कमजोरी पाटोलाई प्रष्ट्याएको छ।
सिपपछि मात्रै वैदेशिक रोजगारी नीति कहिलेदेखि कार्यान्वयनमा ल्याइने भन्ने बारे सरकारमा अझैसम्म अन्यौलता कायमै छ।
सिप प्रशिक्षणसम्बन्धी सबै तयारी पूरा भएपछि वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य तालिम नीति कार्यान्वयनमा ल्याइने विभागका निर्देशक भोलानाथ गुरागाईँले जानकारी दिए।
निर्देशक गुरागाँईले नेपाल लाइभसँग भने, ‘हामीले सिप प्रशिक्षण केन्द्रहरुलाई यही असार १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य तालिमको व्यवस्था गर्न निर्देशन दिईसकेका थियौँ, तालिमको तयारी नपुगेपछि हामीले केही समयका लागि स्थगित गरेका छौँ।’
असार १५ गतेदेखि अनिवार्य रुपमा सिप प्रमाणपत्रपछि मात्रै श्रम स्वीकृति दिने गरी सरकारले अघि सारेको नीति कार्यान्वयनका लागि सरकारले केही पनि तयारी नगरेको विभागका एक अधिकारीले बताए।
‘प्राविधिक तयारीका केही काम बाँकी भनेर सूचना जारी गरेपनि तालिम दिने संस्था छनोटदेखि बाहेक अरु केही पनि काम गरेकै छैन,’ती अधिकारीले भने।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य तालिम लिई श्रम स्वीकृति लिनका लागि तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख गरिएको थियो। तत्कालका लागि १२ वटा काम सम्बन्धी तालिम प्रदान गरिने उल्लेख गरिएको थियो।
किचन हेल्पर (कुक), हाउस किपिङ, वेटर, सेक्युरिटी गार्ड, स्काफोल्डिङ, मेशन, सटरिङ कार्पेन्टर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्स, प्लम्बिङ, गार्मेन्ट टेलर, पेन्टिङलगायत सबैभन्दा बढी डिमान्ड आउने खालका कामसम्बन्धी सिप अनिवार्य गरेर मात्रै वैदेशिक रोजगारीमा पठाउने विभागले नीति अघि सारेको थियो।
तर प्राविधिक तयारी पूरा नहुन्जेलका लागि भन्दै विभागले तालिमको प्रमाणपत्र अनिवार्य गरेको विषय हाललाई स्थगित गरेको जनाएको छ।
सिपमूलक प्रशिक्षणका लागि विभागले द रिभर टेक्निकल ट्रेनिङ सेन्टर, वर्ल्डवाइड सेक्युरिटी सर्भिसेस्, क्वालिटी मल्टिप्रपोज प्रालि, नेपाल करियर ट्रेनिङ फाउन्डेसन प्रालि लगायत २९ वटा प्रशिक्षण संस्थाहरुलाई इजाजत दिएको छ।
कामदारलाई सिप सिक्नका लागि सिपको प्रकृति अनुसार भ्याटसहित १२ हजारदेखि १५ हजारसम्म लाग्न सक्ने बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सिपको प्रकृति अनुसार शुल्क निर्धारण गरिएको बताए।
तालिम प्राप्त गरेका कामदारलाई बोर्डले सिकाई परीक्षण गरी प्रमाण पत्र प्रदान गर्ने उल्लेख गरिएको छ।
बोर्डले प्रदान गरेको सिकाई परीक्षण प्रमाणपत्र बुझाएपछि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारहरुले उल्लेखित १२ वटा कामका लागि श्रम स्विकृति पाउने व्यवस्था गरिएको थियो।
‘हामीले छुट्टाछुट्टै कामका लागि छुट्टाछुट्टै तालिमको पाठ्यक्रम तयार पारिसकेका छौँ, १ सय ६० घण्टाको तालिम पाठ्यक्रम बनाइसकेका छौँ,’ बोर्डका निर्देशक श्रेष्ठले भने।
सीपमूलक तालिम लिएका र कुनै संस्थामा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरिसकेकालाई तालिम लिनु नपर्ने जनाइएको छ। तालिम लिएको वा कामको अनुभव भएको तर प्रमाणपत्र नभएको अबस्थामा बोर्डबाट सिकाई परीक्षण हुने बोर्डले उल्लेख गरेको छ।
नेपालबाट खाडीलगायत मुलुकमा निकै ठूलो संख्यामा अदक्ष कामदारहरु रोजगारीका पुग्ने गरेका छन्। गत जेठ महिनामा विदेसिएका ४३ हजार नेपाली युवाहरुमा २५ हजारभन्दा बढी युवाहरु अदक्ष छन्।
आफूसँग सिप नहुँदा यस्ता कामदारहरु थोरै पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।