काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षाका लागि जनतामाझ जान लागेको बताएका छन्।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा, अपेक्षा र सुझाव सुन्ने तथा पार्टीप्रति विश्वास बढाउने प्रयास गरिने बताए।
नेपालले मुलुकमा बढ्दो बेरोजगारी, युवाको विदेश पलायन र नागरिकका दैनिक समस्यालाई अभियानमा प्राथमिकताका साथ उठाइने उल्लेख गरे। ती समस्या समाधानका लागि दबाब सिर्जना गर्ने उनको भनाइ थियो।
उनले विगतमा पार्टीबाट भएका कमजोरीको आत्मसमीक्षा गर्दै जनतामा देखिएका असन्तुष्टि सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
पुराना पार्टी र नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्ने तथा पार्टीले विगतमा गरेका काम जनतासमक्ष प्रस्तुत गर्ने योजना रहेको उनले बताए।
राष्ट्रियता र संविधानमाथि आघात पुग्ने अवस्था आए चुप लागेर नबस्ने बताउँदै नेपालले लोकतान्त्रिक उपलब्धिको रक्षामा जनताको साथ आवश्यक रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।