काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व भूराजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा अझ बढी देखिएको बताएका छन् ।
शनिबारदेखि सुरु भएको पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल भूराजनीतिक चलखेल र त्यसबाट उत्पन्न परिस्थितिको असरबाट अछुतो रहन नसकेको बताएका हुन् ।
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ,’ उनले भने ।
विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।
आफ्नो पार्टी त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट सबै जनताको सार्वभौमिकता तथा उत्पीडित वर्ग र समुदायको हकअधिकारका लागि युगान्तकारी उपलब्धि हासिल गर्ने पृष्ठभूमिबाट आएको प्रचण्डको भनाइ थियो ।
‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल–भूमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौँ भन्ने हामीले महसुस गरेका छौँ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।