काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
इप्पानले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै भारत र बंगलादेशसँग निजी क्षेत्रले पनि विद्युत बिक्री–वितरण गर्न पाउने गरी कानुनी व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो।
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले ६ हजार मेघावाट विद्युत उत्पादनको कामलाई अघि बढाएको निजी क्षेत्रलाई पनि भारत, बंगलादेशमा विद्युत विक्री गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए।
इप्पानको टोलीले हालै भारत र बंगलादेशको भ्रमण गरेपछि दुवै मुलुकमा जस्तै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत विक्री गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको उनको भनाई छ।
अध्यक्ष गुरागाईँले नेपालमा विद्युत उत्पादनको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसको बजार व्यवस्थापनका लागि तत्काल क्षेत्रीय बजार स्थापनाका लागि भारत र बंगलादेशसँग पहल गर्न पनि सरकारको ध्यानाकर्षण हुनुपनेए बताए।
इप्पानले भारत र बंगलादेशसँग विद्युत निर्यात तथा क्षेत्रीय व्यापारका लागि स्पष्ट अवधारणा अघि सार्न पनि सरकारलाई दबाब दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।