नेपालगन्ज- पश्चिम तराईमा दुई सातायता लाग्न थालेको बाक्लो हुस्सु, कुहिरो र शीतलहरले दैनिकी कष्टकर बन्दै गएको छ।
बिहान शीतलहर त छ नै, आकाश कुहिरोले ढपक्कै ढाक्ने गरेको छ। हुस्सु, कुहिरो र शीतलहरले नेपालगन्जमा चिसो निकै बढेको छ। बिहान १०-११ बजेसम्म अत्यधिक चिसो भए पनि त्यसपछिको घामले थोरै राहत दिँदैछ।

बिहान तीव्र रुपमा चलेको चिसो हावा र शीतलहरले सर्वसाधारणहरु घरबाहिर निस्कन र काममा जान समेत मुस्किल हुन थालेको छ। चिसोका कारण नेपालगन्जका केही विद्यालयहरुले स्कुल बन्द गरेका छन्। चिसोकै कारण बालबालिकामा रुघाखोकीको समस्या देखिन थालेको छ। बिरामी हुन नदिन न्यानो कपडाका साथै टोपी, पन्जा लगाइदिने, चिसोमा धेरै खेल्न दिन नहुने, तातो र झोलिलो खाने कुरा खुवाउनुपर्ने भेरी अञ्चल अस्पतालका बालरोग बिशेषज्ञ डा शकिल अहमद खाले बताए।
चिसोबाट बच्न नेपालगन्जवासीहरु सहरका ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन्। न्युन आर्थिक अवस्था भएका विपन्न वर्गका स्थानीयले भने निकै कष्ट बेहोर्नुपरेको छ।
चिसोकै कारण बजार चहलपहल घटेको छ। सवारीसाधनहरु एकापसमा ठक्कर खान सक्ने भएकाले दिउँसै बत्ती बालेर गुड्न थालेका छन्।

बाक्लो हुस्सुका कारण नेपालगन्जको राँझा विमानस्थलबाट मध्यपश्चिमका पहाडी जिल्लामा हुने उडान अवरुद्ध बनेको छ। नेपालगन्जबाट काठमाडौंका लागि बिहानमा हुने उडान पनि डिले हुन थालेका छन्। बिहान ७ बजेदेखि खुल्ने नेपालगन्ज विमानस्थल अहिले मौसमका कारण १० बजेपछि मात्रै खुल्ने गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।