काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले घिउ पिउनका लागि नभई विकास गर्न ऋण लिन लागिएको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पेस भएको 'राष्ट्र ऋण उठाउने विधेयक-२०७६' माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च गर्नकै लागि ऋण लिएको प्रष्टोक्ति दिएका हुन्।
यो सरकार चार्वाकको उक्ति ‘यावज्जीवं सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत्’ भनेर भन्दैन। घिउ पिउन ऋण लिएको होइन विकासै गर्नलाई हो,' अर्थमन्त्री खतिवडाले भने।
राष्ट्र ऋण उठाउने सम्बन्धी विधेयकका विषयमा बोल्दै नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले हरेक वर्ष विदेशी ऋण थपिँदै गएको भन्दै आवश्यकताका आधारमा मात्र ऋण उठाउनुपर्ने विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने धारणा राखेका थिए।
त्यसपछि अर्थमन्त्री खतिवडाले आन्तरिक र बाह्य ऋण लिएपछि त्यसको प्रतिफल पनि हेर्नुपर्ने बताएका हुन्। ‘प्रतिफलका आधारमा ऋण लिने र ऋण तिर्न सक्ने क्षमता नहेरेर ऋण लिँदा त्यसको पासोमा परिन्छ, सैद्धान्तिक रुपमा यो ठीक हो। तर व्यवहारिक रुपमा हामीले बुझ्नुपर्ने कुरा के हो भने ऋण लिएपछि केका लागि लिईएको हो र त्यो कहाँ उपयोग हुन्छ भन्ने कुरामा विनियोजन विधेयकले स्पष्ट पारिसकेको छ,’अर्थमन्त्री खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।