काठमाडौं– कानुन बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रसारणमा अवरोध पुर्याएको भन्दै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोमा मुद्दा दायर भएको छ।
उपभोक्ता हित संरक्षण मञ्चले उक्त मुद्दा दायर गरेका हो।
मञ्चका तर्फबाट महासचिव विष्णु तिमिल्सिनाले वागेश्वरी केवल टेलिभिजन प्रालिका लक्ष्मी नारायण शाह र सुविसु केवल नेट प्रालिका सुधीर पराजुलीविरुद्ध मुद्दा दायर गरेका छन्।
असार १० गते विहानदेखि इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्याई सेवा प्रदायकलाई करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि सञ्चार सेवा प्राप्त गर्ने हकअधिकारबाट बन्चित गरिएको उजुरीमा उल्लेख छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६८ बमोजिम इन्टरनेट तथा टेलिभिजनजस्तो सार्वजनिक सेवामा विदेशी च्यानल प्रसारणमा अवरोध पुर्याएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ। यसैगरी सोही ऐनको दफा २४९ बमोजिम उपभोक्ताबाट पहिले नै रकम असुल गरी टेलिभिजन प्रसारण सेवा शर्त बमोजिम प्रदान नगरी ठगी गरेको समेत उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।