वर्तमानका कुनै पनि घटनाले सुखान्त वा दु:खान्त परिणाम मात्र दिँदैनन्। विगतको पुरानो पल वा क्षण उल्ट्याएर मस्तिष्कमा बेजोडले सम्झनाको भुमरी चलाइदिन पनि सक्छ। हालसालै हुम्लाको खर्पुनाथमा ११ यात्रु बोकेर हिँडेको जिप कर्णाली नदीमा खसेको कथा पनि लेखकको निम्ति यस्तै घटना हो। खर्पुनाथवासीलाई शोकमा डुबाएको घटनाले आठ वर्षअघिको विष्णुबहादुर शाहीसँगको भेट सम्झायो, जो सडकसँगको सपना र निराशा दुवैसँग जोडिएको थियो।
विष्णुसँगको भेट २०६९ सालको शरद ऋतुको समय हुम्लाको सदरमुकाम सिमीकोटमा भएको थियो। हिमाली जिल्ला हुम्लामा चिसो बढिसकेको थियो। त्यहाँको विजय होटलमा भेटिएका थिए, विष्णु। पेसाले विद्यालय निरीक्षक उनीसँग हुम्लाको सुखदु:खको कुराकानी भयो। उनीसँगको भेट अगावै मैले हुम्लावासीको सडकसँग जोडिएको सपना र राजनीतिक दलको हानथापबारे बुझेको थिएँ। कुराकानीको प्रसंगमा सडकको विषय पनि उठ्यो।
'हुम्लामा सडक त ७५ जिल्लामै पुगे मात्र पुग्छ,' हुम्लामा सडक कहिले पुग्छ भन्ने जिज्ञासालाई ठट्यौलो शैलीमा जवाफ दिएका थिए शाहीले। तिनै शाहीका आफन्त पनि यसपालिको दुर्घटना गुमेका छन्।
सडक विकास र समृद्धिको आधार हो। यसको लागि सडक सुरक्षित र सहज पनि हुनुपर्छ। बिनायोजना कोरिएका माकुरीको जालो जस्ता सडकले दुर्घटना मात्र निम्त्याउँछन्, जो ग्रामीण नेपाली सडकको वर्तमान अवस्था हो।
कुराकानी भइरहेको समय मुगु, डोल्पा र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनु बाँकी नै थियो। अहिले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी जिल्ला हुम्ला मात्र हो। यस हिसावले शाहीको भविष्यवाणी वा विश्लेषण शतप्रतिशत सही थियो। तर, हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने सम्भावना जति टाढा थियो, उति नै गाडी चढ्नलाई व्यग्र थियो हुम्लावासीको मन। दुर्गम पहाडी भेगमा बसेर उकाली-ओरालीमा गाडीको कथा मात्र सुन्ने तथा आक्कलझुक्कल मात्र गाडी चढ्न मौका पाउनेलाई यस्तो रहर स्वाभाविक हो। गाडी चढ्ने रहर यात्राको सहजतासँग पनि जोडिएको छ। जीवनमा सहजता खोज्नु सामान्य मानवीय स्वभाव पनि हो।
हुम्लाको सन्दर्भमा तराई झर्ने वा टाढाको यात्रा तय गर्ने यातायातको साधन हवाइजहाज मात्र हो। हवाई यात्रा आर्थिक हिसाबले सबैको लागि सहज र उपलब्ध हुँदैन। यसै पनि विकट जिल्लामा जीवनयापन सहज हुँदैन। उसमाथि यातायातको अभावमा हुम्लावासीको जीवनशैली निकै कष्टकर छ। यातायातको अभावमा बाहिरबाट पुगेको खाद्य सामग्री निकै महँगो पर्न जान्छ। त्यो समय नै काठमाडौंमा ८० रुपैयाँ पर्ने चिनी त्यहाँ २४० पर्थ्यो।
हुम्लीको सडक–सपनालाई राष्ट्रिय र स्थानीय राजनीतिले पनि नराम्ररी गिजोलेको छ। कर्णाली विकासको नारा हरेक राजनीतिक दलले लगाउँछ। जसरी सपना देखाइन्छ कर्णालीलाई, त्यसरी व्यवहारमा उतार्ने प्रयास गरिँदैन।
यी कारणले हुम्लावासीमा सडकको सपना अझ तीव्र भएको हुन सक्छ। जसको कारण राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि उनीहरुले जिल्लाभित्रको कच्ची सडकका साना गाडी चढाउने निधो गरे। अनि ल्याए मान्छे बोक्ने गाडी हेलिकोप्टर चढाएर। यी गाडीको भाडा महँगो थियो। तैपनि मानिसहरु चढेकै थिए। तर दुर्भाग्य! हेलिकोप्टर चढाएर ल्याइएका गाडी भाडाका लागि मात्र महँगा भएनन्। हुम्लाको खर्पुनाथवासीलाई पनि महँगो साबित भयो।
हुम्लीको सडक–सपनालाई राष्ट्रिय र स्थानीय राजनीतिले पनि नराम्ररी गिजोलेको छ। कर्णाली विकासको नारा हरेक राजनीतिक दलले लगाउँछ। कर्णाली विकासका योजना बजेट भाषणमा कुनै न कुनै रुपमा आउँछ नै। तर जसरी सपना देखाइन्छ कर्णालीलाई, त्यसरी व्यवहारमा उतार्ने प्रयास गरिँदैन। कर्णालीको बेवास्ताले हुम्ला प्रभावित नहुने कुरै भएन।
सडकको राजनीतिक खिचातानीको घटनाक्रम करिब दुई दशकअघि सुरु भएको पाइन्छ। जिल्ला सदरमुकाम सिमीकोटमा चाँडै सडक पुर्याउने उद्देश्यले २०५७ सालमा जिल्ला विकास समितिले चीनसँगको सिमानामा हिल्साबाट सडक खन्न थाल्यो। यो सडक सिमीकोटसम्म ल्याउने योजना थियो।
त्यो समय जिल्ला सभापति तथा कांग्रेस नेता जीवनबहादुर शाही थिए। पछि त्यही बाटो अर्को सिमाना लिमी–लाप्चाबाट पनि खन्न थालियो। सिमीकोट ल्याउने सडक अर्को स्थानबाट खन्नुको उद्देश्य पहिले खन्न सुरु गरेको बाटोमा अवरोध पुर्याउनु थियो भन्ने बुझाइ छ यहाँका कांग्रेस नेताहरुको। हुन पनि यो लिमी–लाप्चाबाट खन्न सुरु गरिएको सडकमा कांग्रेस इतरका स्थानीय नेताहरु एक भएर उभिएका थिए।
यस्तै राजनीतिक खिचातानीको परिणाम स्वरुप ८० किलोमिटर सडक दुई दशक बित्दा पनि बनेन। डा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा यो सडक चाँडै पूरा गर्ने बताए। तर, आफूले दिएको आश्वासन पूरा गर्न उनले कति प्राथमिकता दिए भन्ने कुरा त्यसपछिको दिनले बताइसकेको छ। तसर्थ चीनको सीमानाबाट हुम्लाको सदरमुकाम आउने सडक योजनामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका नेताले आफ्नो राजनीतिक रोटी सेके। तर, हुम्लावासीको सडकको तिर्सना मेटिएन। सडकको तिर्सना मेट्ने प्रयास नै थियो सिमीकोटदेखि दक्षिण-पूर्वतिर खनिएको सडक। त्यही सडकको पछिल्लो दु:खान्त कथा हो, ११ जना यात्रु सहितको जिप कर्णाली नदीमा खसेको खबर। जति दु:खान्त भए पनि नेपालको सडकमा यस्तो दुर्घटना सामान्य नै मानिन्छ। कारण, हाम्रा सडक व्यवस्थित र स्तरीय बनिसकेका छैनन्।
नेताहरु जताततै सडक निर्माण गरेर राजनीतिक मुनाफा कमाउने सोचमा छन्। तिनै नेता तथा जनप्रतिनिधिले डोजर किनेर आर्थिक मुनाफा पनि गरिरहेका छन्। निर्माणको क्रममा यसको मजबुती र दिगोपनलाई ध्यान दिइएको छैन।
ग्रामीण भेगमा खनिएका अव्यवस्थित सडक र खतरा मोलेर यसमा यात्रा गरिरहेका मानिसले दुई कुराको इंगित गर्छ। पहिलो, सडक निर्माणमा जोडिएको राजनीति र मुनाफा। दोस्रो, मानिस (यात्रु) मा रहेको सहजताको तिर्सना।
नेताहरु जताततै सडक निर्माण गरेर राजनीतिक मुनाफा कमाउने सोचमा छन्। तिनै नेता तथा जनप्रतिनिधिले डोजर किनेर आर्थिक मुनाफा पनि गरिरहेका छन्। निर्माणको क्रममा यसको मजबुती र दिगोपनलाई ध्यान दिइएको छैन। यस्तो सडकले पर्यावरण मात्र बिगारेका छैनन्। यात्रामा खतरा र जोखिम पनि निम्त्याइरहेका छन्। यद्यपि मानिसहरु यात्रा गरिरहेकै छन्। जोखिमका साथ यस्तो यात्रा रोज्नुमा उनीहरुले वर्षौंदेखि भोगेको दुःखकष्टले भूमिका खेलेको छ। हरेक मानिसले जीवन सहज होस् भन्ने चाहन्छ। जोखिमहरु भए पनि, दुःखको मात्रा बढी नै भोगेका ग्रामीण भेगका मानिसहरुमा यस्तो विकल्प रोज्नु स्वाभाविक छ। उनीहरुले जुन खालको जीवन बाँच्नुपर्छ र जसरी यात्रा गर्नुपर्छ, त्यसको तुलनामा कच्ची सडकको यात्रा जोखिमयुक्त भए पनि सहज भने पक्कै भएको छ। तर तुलनात्मक सहजता मात्र पर्याप्त छैन। यात्रु सुरक्षित ढंगले गन्तव्यमा पुग्नु पनि पर्छ। किनकि जीवनभन्दा ठूलो र मूल्यवान् अरु चिज हुन सक्दैनन्।
खर्पुनाथको घटना प्रतिनिधि दुर्घटना हो। किनभने पहाडी भेगका अधिकांश ग्रामीण सडक जोखिमयुक्त छन्। यस्ता सडकले तत्काल केही सहजता देलान्। तर निरन्तरको दुर्घटनाले बढ्ने सामाजिक भार समुदाय र राज्य दुवैलाई बोझिलो बन्न सक्छ। तसर्थ तुलनात्मक सहजता दिने सडकलाई सुरक्षित पनि बनाउँदै लग्नुपर्छ।
सडक विकास र समृद्धिको आधार हो। यसको लागि सडक सुरक्षित र सहज पनि हुनुपर्छ। बिनायोजना कोरिएका माकुरीको जालो जस्ता सडकले दुर्घटना मात्र निम्त्याउँछन्, जो ग्रामीण नेपाली सडकको वर्तमान अवस्था हो। दुर्घटना निम्त्याउने सडकले समृद्धिको सट्टा पीडा र शोकको पहाड मात्र बनाउँछ। त्यसैले तीनै तहको सरकारले सडक निर्माणलाई हुम्लाको राजनीतिक दलले झैं राजनीतिक दाउपेच र नाफा-घाटाको विषय बनाउनु हुँदैन।
भानु बोखिमका थप लेख :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।