काठमाडौं– सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
अदालतले पाण्डेलाई विदेश जानुपरे अदालतको अनुमति लिनुपर्ने भनेको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रक्रियामा आपराधिक विश्वासघातलगायतका कसुर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।
पाण्डेको पक्राउपछि बैंक तथा वित्तीय क्षेत्रका विभिन्न संघ–संगठनहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।