काठमाडौं– पिङ्गलास्थानको पशुपति भिजनस्थित होटल अमादब्लममा बुधबार राति हत्या गरिएका आदित्य गुरुङ माइती नेपालका कर्मचारी भएको खुलेको छ। होटलकै रिसेप्सनमा काम गर्ने युवकले छुराले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।
रिसेप्सनमा काम गर्ने चाबहिल,रामहिटी बस्ने डोनी शेर्पाले उनको हत्या गरेका हुन्। शेर्पालाई प्रहरीले पक्राउ गरिसकेको छ।
भारतको सिलिगुडी घर भएका मृतक गुरुङ माइती नेपालको फुटबल कोचका रुपमा कार्यरत थिए। दुई साथीसहित उनी बुधबार दिउँसो उक्त होटलमा बस्न गएका थिए। होटलका कर्मचारीसँग विवादको क्रममा उनको हत्या भएको हो।
मदिरा नदिएपछि विवादको सुरुवात
गुरुङ लगायत तीन जना होटलको कोठा नम्बर ८१० मा बसेका थिए। रातको करिब सवा १२ बजेको थियो। उनीहरुले रिसेप्सनमा फोन गरेर मदिरा र स्न्याक्स ल्याउन आग्रह गरे। तर, ढिला भएको भन्दै होटलका कर्मचारीले मदिरा र स्न्याक्स थप्न नसकिने बताए। फोनमै उनीहरुबीच सामान्य विवाद भयो।
त्यसपछि गुरुङ र उनका एक साथी रिसेप्सनमै आएर कुरा गर्न थाले। कर्मचारीले मदिरा बेच्न नसकिने बरु नजिकैको बाग्मती होटलबाट मगाउन सकिने बताए। मेनुमा २४ घन्टा नै सर्भिस हुने भन्ने तर त्यसअनुसार सर्भिस नगरेको भन्दै विवाद बढ्यो। त्यही विवादको क्रममा हात हालाहाल भयो। विवाद चर्कदै जाँदा शेर्पाले गुरुङलाई शरीरको विभिन्न भागमा छुरा हानेका थिए। टाउको लगायत भागमा छुरा लागेर गम्भीर घाइते भएका उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा पुर्याएकोमा उनको मृत्यु भएको हो।
अभियुक्त लागुऔषध दुर्व्यसनी
रिसेप्सनमा काम गर्ने शेर्पा लागुऔषध दुर्व्यसनी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
लागुऔषधकै नशामा उनले छुरा प्रहार गरेको हुन सक्ने प्रहरी आशंका छ। शेर्पाले भने विगतमा लागुऔषध सेवन गर्ने भए पनि आफूले अहिले छाडिसकेका बताएका छन्। ‘घटना आवेगमा नै भएको जस्तो देखिन्छ,’ महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी अनुपम श्रेष्ठले भने,‘होटलको व्यवस्थापनको समेत लापरबाही देखिएको छ।’
पशुपति भिजनमा सञ्चालित उक्त होटलमा सिसिटिभी जडान गरिएको थियो। तर, घटनाको बेला सिसिटिभीले काम नगरेको अनुसन्धानमा खुलेको छ। प्रहरीले होटलका सञ्चालकहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
घटनाको बेला होटलका सेक्युरिटी गार्डको समेत चरम लापरबाही देखिएको छ। झगडा रोक्नुको सट्टा उनले पनि ग्राहकमाथि कुटपिट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।