काठमाडौं- नेपालमा कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको थियो।
उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिएका छन्। योसँगै कोरोनाको आशंकामा परीक्षण गरिएको नमुनाको संख्या ४ सय ७८ पुगेको छ। जसमध्ये हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो। उनी पनि निको भएर घर फर्किसकेका छन्।
प्रयोगशालामा हाल दैनिक १० देखि १५ वटा नमुना परीक्षण हुने गरेको गुप्ताले जानकारी दिए। नमुना परीक्षणको रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ।
आवश्यक परे दैनिक ६ सय बढी नमुना परीक्षण गर्न सक्ने क्षमता आफूहरुसँग भएको प्रयोगशालाले जनाएको छ।
कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप (भ्याक्सिन) परीक्षण सोमबार सुरु भएको छ। अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थाले वासिङ्टनस्थित एक स्वास्थ अनुसन्धान संस्थामा परीक्षण सुरु गरेको हो।
नेसनल इन्स्टिच्युट अफ हेल्थले उक्त परीक्षणका लागि रकम उपलब्ध गराएको जनाइएको छ।
४५ युवा र स्वस्थ स्वंसेवकमा भ्याक्सिनका विभिन्न डोजहरू दिएर परीक्षण गरिनेछ। उक्त भ्याक्सिनमा भाइरस प्रयोग नभएकाले परीक्षण गरिएका कसैलाई पनि फेरि संक्रमण नहुने बताइएको छ। यो प्रसंगपछि विश्वभर कोरोना भाइरस संक्रमणको अवस्था के छ ? विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी अध्ययन संस्था वर्ल्डोमिटरको सहयोगमा नेपाल लाइभले तयार पारेको भिडियो हेर्नुहोस्।