काठमाडौँ - नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच आज भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो।
आज बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए।
सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो।
ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३।६० भारुमा आयात भइरहेको छ।
भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।