काठमाडौं– निर्वाचनमा खटाइएका म्यादी प्रहरीले आन्दोलन गरेका चार वटा घटनाको प्रहरी मुख्यालयले छानबिन गरेको छ। जसमा फेसबुकमा आउने गलत हल्लादेखि प्रहरी मेसमा भएका अनियमिततासम्मलाई कारणका रुपमा औल्याइएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले मोरङ, पर्सा र दोलखामा टोली खटाएर छानबिन गरेको हो । कतिपयमा प्रहरीको गल्ती देखिएको र केहीमा भने गलत हल्लाका कारण आन्दोलन भएको छानबिनमा औल्याइएको छ।
मोरङःअश्लील गाली
मोरङको ईलाका प्रहरी कार्यालय नेमुवामा कार्यरत म्यादी प्रहरीले प्रहरी इन्चार्जको अश्लील गालीका कारण आन्दोलन गरेको अनुसन्धानमा औल्याइएको छ। गत २१ गतेको चुनावको दिनमा म्यादीहरु चुनाव सकेर कार्यालयमा आएका थिए। तर, प्रहरी मेसमा खाना नपाकाले उनीहरु नजिकैको होटलमा गएर खाना खाए। मतदानकेन्द्रबाट फर्कदा पनि हिड्दै आउनु परेको र कार्यालयमा आइपुग्दा पनि खाना नभएकाले उनीहरु पहिले नै रिसाएका थिए। त्यसमा पनि अश्लील गाली सुन्नुपरेपछि महिला म्यादी प्रहरीले आन्दोलन गरेका हुन्।
इप्रकाका सई टंक प्रसाद कोइराला कार्यालयमा फर्कदा १÷२ जना मात्र प्रहरी देखेपछि खोजी सुरु गरेका थिए। प्रहरी र म्यादीहरु नजिकैको होटलमा खाना र मदिरा पिइरहेका थिए । त्यसपछि उनले मदिरा पिउने प्रहरीलाई हिरासतमा राखेका थिए। अरुलाई सामेल गराएर गाली गरे । गाली गर्ने क्रममा म्यादी प्रहरीहरुमाथि अश्लील शब्द प्रयोग गरको थिए। सोही कारण भोलीपल्ट महिला म्यादी प्रहरीहरुले प्रहरी कार्यालय घेराउ गरी सई कोइरालालाई कारबाहीको माग गरेको छानबिन रिपोर्टमा उल्लेख छ, छानबिनपछि सई कोइरालामाथि कारबाही प्रक्रिया अघि बढीसकेको छ।
पर्साः बर्खास्ती र फेसबुकको गलत हल्ला
पर्सामा पनि म्यादी प्रहरीले पुस ४ गते आफुहरुको राशनभत्ता अनियमितता गरेको भन्दै आन्दोलन गरेका थिए। त्यसको मुख्य कारण भने फेसबुक र केही अनलाइनमा आएको गलत समाचार भएको छानबिनमा खुलेको छ। एक अनलाइनले वास्तविकता भन्दा म्यादीहरुले धेरै तलब पाउने भनेर लेखेकोमा सोही समाचार देखाउदै उनीहरुले आन्दोलन गरेका थिए। पहाडी जिल्लाहरुमा राशन भत्ता धेरै हुने भएकाले आफुहरुलाई पनि त्यही अनुसार चाहिने भनेर समेत उनीहरुले आन्दोलन गरेको छानबिनमा खुलेको छ।
त्यस्तै पर्सा प्रहरीले गलत गतिविधिमा संलग्न केही म्यादीलाई बर्खास्त गरेकोमा उनीहरुले समेत आन्दोलनलाई चर्काउने काम गरेका थिए। केही म्यादी प्रहरीले जातीयताको कुरा समेत निकालेर आन्दोलन गरेको डिएसपी नवराज अधिकारीद्वारा बुझाइएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
दोलखाःमेसमा गढबढी
गत पुस ३ गते दोलखामा म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए। आफुहरुलाई मेसमा धेरै पैसा असुलिएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए। मेसमा प्रहरीको छाकको ६० रुपैयाँ काटिनेमा ९५ रुपैयाँ काटिएको भन्दै आन्दोलन गरेका थिए। जून आन्दोलनमा २ जना म्यादी प्रहरी घाइते समेत भएको थियो। उक्त घटनाको पनि स्थलगत छानबिन भएको थियो। जसमा जिल्ला प्रहरी कार्यालयमा मेस चलाउने केही प्रहरीले म्यादीबाट बढी पैसा लिन खोजिएको खुलेको थियो। आन्दोलनपछि प्रहरीले प्रतिछाक ६० रुपैयाँ मात्र काटेको थियो।
कालिकोटः जुम्लाको राशनभत्ता सुनेपछि आन्दोलन
गत पुस ६ गते बिहानमा कालिकोटमा कार्यरत म्यादी प्रहरीहरु अबिर लगाएर प्रहरीसँग हात मिलाएर बिदा भएका थिए। तर,केही घन्टापछि उनीहरुले जिल्ला प्रहरी कार्यालयमा ढुङगा हान्न थाले। त्यसपछि भएको झडपमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु नै भयो।
निर्वाचनमा खटिने प्रहरी र म्यादीलाई हरेक जिल्लामा राशनभत्ता फरक फरक थियो। कालिकोटमा कार्यरत म्यादी प्रहरी तलब र राशनभत्ता लिएर खुशी साथ बिदा भए। तर, जुम्लामा काम गरेका अन्य म्यादी प्रहरीले धेरै पैसा पाएको थाहा पाएपछि उनीहरुले आफुहरुलाई कालिकोट प्रहरीले ठगेको महशुस गरे। खासमा कालिकोटमा भन्दा जुम्लाको राशनभत्ता धेरै थियो, सोही आधारमा जुम्लाका म्यादी प्रहरीले धेरै पैसा पाएका थिए। तर, आन्दोलनकारीलाई वास्तविकता बुझाउन नसक्दा मुठभेडमा म्यादी प्रहरीको मृत्यु नै हुनपुग्यो, केही घाइते भए। गृहका सहसचिव डा.मान बहादुर बिश्वकर्मा संयोजकत्वको समितिले कालिकोटमा स्थलगत छानबिन गरिरहेको छ।
प्रहरी प्रवक्ता मनोज नेउपानले म्यादीहरुको तलब र भत्तामा अनियमितता नहोस् भनेर सबैलाई बैंकमार्फत दिएको बताए। कतिपय जिल्लामा गलत हल्लाको भरमा आन्दोलन भएको उनको भनाई छ। राशनभत्ताबाट भने केही जिल्लामा मेसमा खाना खाएवापत धेरै काटिएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।