काठमाडौं– चिनियाँ कम्पनी होङसीले नेपालमा सिमेन्ट उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको होङसी सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भिक आयोजना लगानी सम्झौता (पिआइए) भएको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र होङसीका तर्फबाट बाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरेका हुन्।
मस्यौदा सञ्चालक समितिबाट पारित भएपछि औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता हुनेछ। होङसीले सिमेन्ट कारखाना स्थापना गरेर दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुंगा खानी खरिद गरिसकेको छ।
होङसीले आयोजना लागतको ०.२ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ दस्तुर बुझाउनेछ।
सिमेन्ट उत्पादनमा लगानी गर्ने तयारीमा रहेको होङसी दोस्रो चिनियाँ उद्योग हो। चीनकै हुवासिन कम्पनीले यसअघि नै हुवासिन सिमेन्ट नारायणी उद्योग प्रालि स्थापना गरिसकेको छ।
नयाँ कम्पनी होङसीले भने आउँदो फागुन अन्तिमदेखि सिमेन्ट उत्पादन थाल्ने तयारी गरेको छ। कम्पनीले सिमेन्ट उद्योगबाट बिजुली निकाल्ने समेत योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।