एथेन्स- ग्रीसको राजधानी एथेन्सको बाहिरी क्षेत्र सामुद्रिक तट नजिकै शनिबार डढेलो लागेपछि त्यस क्षेत्रका बासिन्दालाई अन्यत्र सारिएको ग्रीक अधिकारीहरूले शनिबार जनाएका छन्।
'डढेलोका कारण दर्जनौँ घरमा खतरा उत्पन्न भएपछि र डढेलोका धुवाँले स्थानीय नागरिक बिरामी पर्नसक्ने भन्दै नगर प्रशासनले स्थानीय ती घरहरू खाली गरी उनीहरूलाई सुरक्षित स्थानतर्फ लगिएको छ,' सारोनिकोसका नगरप्रमुख जर्ज सोफ्रोनिसले बताए। जङ्गली क्षेत्रमा आगलागी भएको र बिस्तारै बस्तीतिर सरेपछि पूर्व सावधानीका लागि बस्तीलाई खाली गरिएको हो।
डढेलोका कारण मानवीय क्षति भने नपुगेको बताइएको छ। डढेलोको धुवाँ शहरी क्षेत्रमा प्रवेश गरेपछि शहरमा प्रदूषण बढेको अधिकारीहरूले बताएका छन्। आगलागीपछि उक्त क्षेत्रबाट गुड्ने सवारी साधनलाई वैकल्पिक बाटो अवलम्बन गर्न भनिएको छ। जङ्गलमा सल्लो र सानो झाडी रहेकाले डढेलोले छिट्टै फलिँदै गएको बताइएको छ।
डढेलोलाई निभाउन दुई वटा फोहरा फाल्ने विमान र एउटा हेलिकोप्टर परिचालन गरिएको छ भने स्थानीय सुरक्षाकर्मीसहितका समूहहरू खटाइएको छ।
एथेन्समा गत वर्षको जुलाईमा यस्तै सामुद्रिक तटमा रहेको एक रिसोर्टबाट फैलिएको डढेलोका कारण १ सय २ जनाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।