राजविराज- सन् २०१७ भित्रै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहँदा सप्तरीका भूमिहीनहरु सबैभन्दा ठूलो पीडामा छन्। शौचायल कसरी बनाउने भन्ने चिन्ता एकातिर छ भने ऋण खोजेर बनाइहाले पनि कतिबेला भत्काइदेलान् भन्ने अर्को आशंकाले उनीहरुलाई चिन्तित बनाएको छ।
तर, यिनै भूमिहीन मध्येका राजविराज ५, इटहरी विष्णुपुर निवासी विटवादेवी दास र रिना सदाको सुकुम्वासी परिवारले भने शौचालय निर्माणका लागि कसैले कल्पना नै नगरेको विकल्प तयार पारेका छन्।
जसरी पनि शौचालय बनाउनैपर्ने भएपछि उनीहरुले आफ्नै घर छेउमा रहेको नम्बरी जग्गाधनीलाई भेटेर शौचालय बनाउन जग्गा सहयोगका लागि माग गरे। जग्गाधनी राजविराज ८ निवासी अरुणकुमार प्रधानले पनि सर्तसहित शौचालय बनाउन जग्गा दिने भएपछि उनीहरु अहिले सोही जग्गामा शौचालय बनाउन जुटे।
‘दुवै परिवार मिलेर शौचालय बनाउन जग्गा दिनुपर्यो भनेपछि जग्गाधनीले सहमति दिए,’ राजविराज ५ का वडा अध्यक्ष समिर झाले भने, ‘शौचालयबहेक अन्य कुनै पनि गतिविधि गर्न नपाउने सर्तसहित जग्गा पाएपछि उनीहरुको समस्या सकिएको छ।’
विटवादेवी र रिनालाई शौचालय वनाउने जग्गा उपलब्ध गराउने प्रधान सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष हुन्। उनी भन्छन्, ‘मेरो सानो सहयोगले राष्ट्रिय अभियान पूरा हुन्छ भने किन पछि हट्नु भन्ने लागेर जग्गा उपलब्ध गराएँ।’
प्रधानले जग्गा उपलब्ध गराएपपछि दुई घर सुकुम्वासीको समस्या त सकियो तर अन्य हजारौं सुकुम्वासीको समस्या भने ज्यूँका त्यूँ छ।
सन् २००४ मा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनले गरेको सर्वक्षण अनुसार सप्तरीमा करिब ३६ हजार परिवार भूमिहीन र सुकुम्वासीको बसोबास छ।

अधिकांश भुमिहीन-सुकुम्वासीहरु विटवादेवी र रिनाकै जस्तो सडक किनार र सरकारी जग्गामै झुप्रो बारेर बसेका छन्। तर, बाँकी भूमिहीनको भने शौचालयका लागि विटवादेवी र रिनाको जस्तो विकल्प छैन।
उनीहरुमाथि पछिल्लो समय शौचालय बनाउनैपर्ने दबाब परिरहेको छ। तर, शौचालय कहाँ र कसरी बनाउने भन्ने विषयमा भने कसैले सहयोग गरिरहेको छैन। ‘आफ्नो जग्गा छैन, सडकमै शौचालय बनाउँदा भोलि भत्काइदेलान् भन्ने चिन्ता छ,’ वेल्ही चपेना गाउँपालिका–५, मलेकपुर स्थित हुलाकी सडक किनारमा झुप्रो बारेर वसेका तेजनारायण मरिक भन्छन्, ‘सडक विस्तार गर्ने हल्ला सुन्दैछु, यतिबेलै शौचालय बनाउनुपर्छ भनेर दिनहुँ पिर्छन्। आज बनायो, भोलि भत्काउनुपर्यो भने के गर्नु?’
मलेकपुरमा १० घर मरिक र ४० घर राम परिवार सडक किनार र सरकारी जग्गामा बसोबास गरिरहेको तेजनारायणले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।