नयाँदिल्ली- पाँचौ अन्तर्राष्ट्रिय योगा दिवस शुक्रबार मनाइएको छ। तर, सोही सन्दर्भमा भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले गरेको एउटा ट्विटका बारेमा प्रतिक्रिया आउने क्रम रोकिएको छैन।
'आर्मी डग युनिट'का आर्मी र कुकुरले योगा गरिरहेको तस्बिर ट्विट गर्दै राहुलले किन लेखे 'न्यु इन्डिया'? प्रतिक्रियामा आ-आफ्नै तर्कहरु प्रस्तुत भइरहेका छन्।
शुक्रबार ट्विट गरिएको तस्बिरमा सेनाका जवान एकातिर र अर्कातिर कुकुर एकसाथ योगा गरिरहेको देख्न सकिन्छ। यो ट्विट आउनसाथ ह्यासट्याग डग्स (#Dogs) नै ट्रेन्डिङ हुन पुग्यो। यो समाचार तयार पार्दासम्म झन्डै साढे ७ हजार रिट्विट भएका छन्।

केही ट्विटर प्रयोगकर्ताले उनको यो प्रस्तुति भद्दा र अनावश्यक भनेका छन् भने केहीले भारतीय सेनाको अपमान गरिएको प्रतिक्रिया दिएका छन्।
तस्बिरको साथ 'न्यु इन्डिया' लेख्नुको तुक के हो? केहीले प्रश्न गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) एवं गृहमन्त्री अमित शाहले यसलाई कांग्रेसको नकारात्मक प्रवृत्ति भएको बताएका छन्। 'यसको मतलब कांग्रेसको नकारात्मकता छर्लंग भएको छ। उनीहरुले योगा दिवसलाई मजाक बनाएर हाम्रो सेनाको अपमान गरेका छन्। आशा छ सकारात्मक भावना जागोस्,' उनले लेखेका छन्।
नीतु नाम गरेकी एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, 'राहुल गान्धीले जुन डग्स युनिटको मजाक उडाएका छन्, युनिट यो देशका लागि राहुलभन्दा बढी बफादार छ।'




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।