भद्रपुर- झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ। विगतको भन्दा अनुकूल मौसम, उन्नत बीउ र प्रविधिको प्रयोगले खाद्यान्न उत्पादनमा शून्य दशमलव ११ प्रतिशतले वृद्धि भएको जिल्ला खाद्यान्न सञ्जालको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ।
बाल कुपोषणको अवस्था नगण्य रहेको जिल्लामा अध्यावधिक वर्षाका कारण धानबाली र माछाको उत्पादनमा वृद्धि भएको छ। प्रमुख कृषि बजार बिर्तामोड, धुलाबारी, भद्रपुर, दमक र चन्द्रगढी रहेको जिल्लामा सुपारी र चियाबाट रु ९५ करोड तथा मासुजन्य पदार्थबाट रु ७२ करोड ९३ लाख आम्दानी भएको कृषि विकास कार्यालयका अधिकृत शालिकराम भट्टराईले जानकारी दिए।
खानेपानीमा ८५ प्रतिशत र सुलभ शौचालयमा ७५ प्रतिशत पहुँच रहेको भए पनि खुला दिसामुक्त घोषणा हुन सकेको छैन। गएको वर्ष ८७ हजार ५ सय हेक्टर जग्गामा धानखेती गरिएको थियो भने उत्पादकत्व ४.६९ प्रतिशत रहेको थियो। यस वर्ष जग्गा प्लटिङका कारण धानखेती गरिएको क्षेत्रफल दुई हजार हेक्टर घटेको छ। करिब ८५ हजार ५ हेक्टरमा मात्र धानखेती गरिएको थियो भने उत्पादकत्व ४.८ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो।
गएको वर्ष झापामा ४ लाख १० हजार ३७५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४ लाख १० हजार ४ सय मेट्रिक टन उत्पादन भएको छ।
यसैगरी, यस वर्ष साउनमा आएको बाढीका कारण जिल्लाभरिमा रु एक अर्ब ६ करोड ८४ लाख बराबरको कृषि क्षेत्रमा क्षति भएको जिल्ला खाद्यान्न सञ्जालको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।