बाबियाचौर, म्याग्दी- प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभीर झरनाको प्रचारप्रसार हुन सकेको छैन।
पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभीर झरना ओझेलमा परेको हो। बेनी–जोमसोम सडकमा सवारीसाधनमार्फत दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरे पनि नजिकै रहेको महभीर झरना सुनसान हुने गर्छ।
पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने भरना निकै आकर्षक र मनमोहक रहेको स्थानीय मिलन गर्बुजाले बताए। छङछङ गर्दै झर्ने झरना इन्द्रेणी लाग्दा अझै मनमोहक देखिने गर्छ।
उक्त झरना नजिकै मन्दिर पनि रहेको छ, जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। बेनी–जोमसोम सडकदेखि दश मिटर नजिकै रहेको झरना बाटैबाट देखिन्छ। केही पर्यटक गाडीबाट ओर्लिएर झरना नजिकै पुगेर अवलोकनसँगै तस्बिर खिच्ने पनि गरेका छन्।
घेराबार, विश्रामस्थल, पार्किङस्थल, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेको छैन। यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोनिङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए।
अन्नपूर्ण गाउँपालिकाको ७ नं वडाका अध्यक्ष गमबहादुर फगामीले झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि यो वर्ष वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए। महभीरका बासिन्दासँग छलफल गरेर सवारी पार्किङ, रेलिङ, विश्रामस्थल र पदमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले बताए।
झरनाको पर्यटन विकास गर्न सके नजिकै होटल रेष्टुराँ तथा होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्न सक्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।